समाचारमंगलबार, माघ २७, २०७१

केजरीवालले सत्ता छोडेको ठिक एक वर्षपछि शपथ ग्रहण गर्ने

हिमालखबर

भारतको दिल्ली मुख्यमन्त्रीबाट ४९ दिनमै राजीनामा गरेका अरविन्द केजरीवालले सत्ता छोडेको ठिक एक वर्षपछि १४ फेब्रुअरीमा शपथ ग्रहण गर्ने भएका छन् ।

एकवर्षअघि बहुमत नभएकाले आफ्ना मुद्दा लागू गर्न नसकेको भन्दै राजीनामा गरेका केजरीवालको पार्टी आपले यसपटकको निर्वाचनमा अत्यधिक बहुमत हासिल गरेको छ ।

कुनै पनि पार्टीले बहुमत नपाएको अवस्थामा केजरीवालको राजीनामा गरेपछि दिल्लीमा राष्ट्रपति शासन लागू भएको थियो ।

निर्वाचन मतपरिणाममा ७० स्थानमध्ये अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टी (आप) ले अहिलेसम्म ६४ स्थानमा जित हासिल गरेको छ भने ३ स्थानमा अगाडि छ ।

भारतीय जनता पार्टी (बिजेपी) ले ३ स्थानमा जित हासिल गरेको छ । कांग्रेस शून्यमा छ ।
kejriwal_650+_021015095413
जितपछि केजरीवालले भने, ‘अहंकार नगर्नु, सत्यको बाटो नछोड्नु’
दिल्लीमा ऐतिहासिक जीतपछि आप नेता अरविन्द केजरीवालले कार्यकर्ताहरुलाई सम्बोधन गर्दै सत्यको बाटो नछोड्न र अहंकार नगर्न आग्रह गरेका छन् ।

आफ्नो पार्टी कार्यालयमा पत्नी, पिता र वरिष्ठ नेतासहित पुगेका केजरीवालले भने, “जब तपाइँ सत्यको बाटो हिंड्नुहुन्छ त्यसबेला ब्रह्माण्डका सबै शक्तिले तपाइँलाई मद्दत गर्छन ।”

आफ्नी कार्यालय पुगेका उनले भने कार्यकर्ता र विधायकहरुलाई कस्तै परिस्थितिमा अहंकार नगर्न भने । उनले भने, “अहंकारकै कारण विजेपी र कांग्रेसले दिल्लीमा पराजय व्यहोरेका हुन, हामीले अहंकार गर्यौं भने पाँच वर्षपछि जनताले पाठ सिकाउँछन् ।”

केजरीवाल नयाँ दिल्ली क्षेत्रबाट २६ हजारको मतान्तरमा विजयी भएका छन् । बिजेपीका तर्फबाट मुख्य मन्त्री पदकी उम्मेदवार किरण बेदीले पनि निर्वाचन हारेकी छन् । उनलाई आपका एसके बग्गाले २४७६ मतले हराएका छन् ।

‘मफलर म्यान’ भनेर चिनिने अरविन्द केजरीवाल अघिल्लो निर्वाचनबाट दिल्लीको मुख्यमन्त्री भए पनि बहुमत नहुँदा ४९ दिनमै राजीनामा गरेका थिए । उनले जनतासँग बहुमत माग्दै दिएको राजीनामा ठिक रहेको अहिले सावित भएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदी, विपक्षी नेता सोनिया गान्धी, राहुल गान्धी र युपीका मुख्यमन्त्री अखिलेश यादव लगायतका नेताहरुले केजरिवाललाई बधाई दिएका छन् । प्रधानमन्त्री मोदीले दिल्लीको विकासमा केजरीवाललाई सहयोग गर्ने भन्दै चियाको निम्तो समेत दिएका छन् ।

केजरीवालले दिल्लीमा निर्वाचन घोषण हुनु अघिदेखि नै बिजेपीमाथि दबाब बनाउँदै आएका थिए । अहिलेसम्मको मतगणनाबाट उत्साहित केजरीवालले दिल्लीमा अनपेक्षित सफलता पाएको बताएकाछन् ।

आपले दिल्लीमा पानी, विजुली, ग्याँस जस्ता सबै वर्गलाई दैनिक आवश्यक वस्तु सस्तो दाममा उपलब्ध गराउने, भ्रष्टाचारमा शून्य सहनशिलता, गरिब र साना कारोबारीका पक्षमा काम गर्ने र दिल्लीको तिव्र विकास जस्ता वाचा गरेको थियो ।

इन्जिनियरिङ अध्ययन, कर विभागको सरकारी जागिर छोडेर भ्रष्टाचार विरोधी र अधिकारकर्मी कर्ममा उत्रिएका केजरीवाल अन्ना हजारेसँग भ्रष्टाचार विरोधी कानून बनाउने अभियानमा उत्रेपछि चर्चामा आएका हुन् । निर्वाचन मतगणनामा आफ्नो पार्टी निकै अघिदेखिएपछि उनले हजारेलाई फोन गरेर आशिर्वाद मागेका छन् ।

आपले गरीब, साना कारोबारीका पक्षमा लबिङ गरे पनि भ्रष्टाचार विरोधि अभियान र सवै बर्गलाई समेट्दै दिल्लीको विकास गर्ने नाराले उसका पक्षमा लहर ल्याएको हो ।

राष्ट्रिय निर्वाचनमा बिजेपीले गरेको मिडिया क्याम्पेन बारे राम्रै चाल पाएका केजरीवालले विधान सभा निर्वाचन घोषणा हुनु अघिदेखि नै आइआइटी मुम्बाईमा रहेका आफ्ना समर्थकहरुलाई दिल्ली निर्वाचन सन्दर्भमा सोशल मिडिया रिसर्च गर्न लगाएका थिए । जसबाट उनलाई दिल्लीको जनसंख्या कुन मुद्दामा कुरा गर्न चाहन्छ भन्ने थाहा भयो र त्यसै अनुसार आफ्नो क्याम्पेन अगाडि बढाए ।

सोशल मिडिया, फोन, पत्र, एसएमएस र कार्यकर्ता मार्फत दिल्लीका घरघरमा पुगेको आप आर्थिक पारदर्शितामा अव्वल देखियो ।

अहिलेसम्मको मतगणना परिणाम अनुसार दिल्लीमा केजरीवालले अत्यधिक बहुमत सहित सरकार बनाउने निश्चित भएको छ ।

को हुन केजरिवाल
४६ वर्षीय अरविन्द केजरीवाल भारतमा भ्रष्टाचार विरोधी ‘जनलोकपाल विधेयक’ को माग गर्दै अन्ना हजारेसँग आन्दोलनमा आएपछि बढी चर्चामा आएका हुन् । भारतमा सूचनाको हक सम्बन्धी कानून (Right to Information law) बनाउनमा उनले गरेको आन्दोलन प्रमुख उपलब्धि मानिन्छ ।

आइआइटी खडगपुरबाट मेकानिकल इञ्जिनियरिंगमा स्नातक केजरीवालले कुशल नेतृत्वका लागि रमन म्यागसेसे पुरस्कार पनि प्राप्त गरेका छन् । हरियाणामा जन्मेका उनी भारतीय राजस्व सेवाको जागिर छोडेर सामाजिक आन्दोलनमा उत्रिएका हुन् ।

अरविन्द केजरीवालले देशको राजनीति सुधार्न आफै राजनीतिमा होमिनुपर्छ भन्दै दुईवर्षअघि ‘आम आदमी पार्टी (आप) गठन गरे ।

२ अक्टोबर २०१२ मा राजनीतिमा प्रवेश गरेको औपचारिक घोषणा गरेका केजरीवालले सामाजिक आन्दोलन जस्तै राजनीतिमा पनि सफलता पाउँदै छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>