समाचारमंगलबार, माघ २७, २०७१
गच्छदारले भने, ‘म आन्दोलनको पक्षमा छैन’
मधेशी मोर्चाका प्रभावशाली नेता विजय गच्छदारले आफू आन्दोलनको पक्षमा नभएको स्पष्ट पारेका छन् ।
रिपोर्टर्स क्लब नेपालको ज्ञापनपत्र २७ माघमा बुझ्दै मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले देशले आन्दोलन र द्वन्द्व थेग्न नसक्ने भन्दै आन्दोलनको सोचलाई हावी हुन नदिनेतर्फ आवश्यक कदम चाल्नुपर्नेमा जोड दिए ।
उनले भने, “मुलुक बन्द, आम हडताल र आन्दोलनमा जानै सक्दैन त्यसलाई रोक्न सहमतिको विकल्प छैन ।”
सत्तारुढ दलले दुई तिहाईको बहुमतबाट संविधान जारी गर्ने दम्भ त्याग्नुपर्ने र प्रतिपक्षीहरुले सडकमा जाने हठ त्याग्नुपर्ने धारणा गच्छदारले राखे ।
आफूले राजनीतिक सहमतिका लागि गरेको प्रस्तावलाई बेवास्ता गर्दा अहिले दलहरुवीच सम्वादको तार टुटेको उनको भनाई थियो ।
“मैंले संविधानको अन्तरवस्तुमा विद्यमान विवाद समाधानका लागि बीचको मार्ग प्रस्ताव गर्दा प्रचण्डजीले त चाहनुभएको थियो तर उहाँले एसर्ट गर्न सक्नुभएन, मेरो कुरा मानिदिएको भए देश सहमतिको बाटोमा निकै अघि बढिसक्थ्यो,” गच्छदारले भने ।
उनले एमाओवादी अध्यक्ष दाहाललाई समयमा सशक्त निर्णय लिन नसकेको आरोप लगाए । भने, “बेलामा दरिलो निर्णय लिन नसके नेता भइदैन ।”
मधेशमा तीन वा चार प्रदेश बनाउँदा कुनै फरक नपर्ने समेत बताएका उनले सहमतिका लागि फराकिलो मन लिएर प्रस्तुत भएमा समस्याको समाधान हुने विश्वास व्यक्त गरे ।
सहमतिको लागि एउटै नेताको काँधमा मात्रै जिम्मेवारी नभए पनि प्रधानमन्त्रीको मुख्य जिम्मेवारी भएकोले उनी चुके मुलुकले दुःख पाउने गच्छदारको भनाई छ ।
