समाचारबुधबार, माघ २८, २०७१
अखिलको छुट्टा–छुट्टै भेला, किशोरविक्रमलाई अध्यक्ष नमान्ने
अनेरास्ववियुका अध्यक्ष किशोरविक्रम मल्लमाथि छानविनको माग राख्दै अनुशासन आयोगमा उजुरी परेपछि अखिल दुई खेमामा बाँडिएका छन् ।
मल्लले आफ्नै कार्यकर्ताबाट जापान पठाउँछु भन्दै पैसा असुलेको आरोप लागेपछि घटनाको छानविन हुनुपर्ने माग राख्दै अखिलकै पदाधिकारीहरुले उजुरी दिएका थिए ।
तर, उजुरीपछि अध्यक्ष मल्लले त्यसको जवाफ दिनुको साटो आफु पक्षीय भेला बोलाएको भन्दै उजुरी दिने पक्षले मल्ललाई अध्यक्ष नमान्ने निर्णय गरेको छ । २८ माघमा वाल्मिकी क्याम्पसमा उपाध्यक्षहरु थोमस बास्तोला र दीपक गौतमसहित बहुमत पदाधिकारीले भेला बोलाएका थिए ।
उक्त भेलाले मल्लको निर्देशन नमान्ने निर्णय गरेको सचिवालय सदस्य गौतम राईले बताए । आफ्नै कार्यकर्तालाई अध्यक्षले नै ठगेको सन्देशले संगठनलाई बद्नाम गर्ने भएकाले घटना छानविनको माग राखिएको उनले बताए ।
अखिलको पूर्व अध्यक्ष तथा एमाले केन्द्रिय सदस्य रामकुमारी झाँक्री सहभागी भएको भेलामा सचिवहरु अब्दुल हुसेन खाँ, भक्तकुमारी लामा, राधिका खतिवडा र सरोज यादवसहित ८ जना पदाधिकारी सहभागी थिए ।
यसअघि, मल्लले २६ माघमा आफु पक्षीय ६ जना पदाधिकारीसहितको छुट्टै भेला थापाथली क्याम्पसमा गरेका थिए । अध्यक्ष मल्लले आफुमाथि लागेको आरोप निराधर भएको बताउँदै आएका छन् ।
