समाचारबिहीबार, माघ २९, २०७१
संविधानसभा बैठक वस्दै, सहमतिका लागि दश दिनको समय
राजनीतिक दलहरुलाई सहमति कायम गर्न सहज हुने गरी संविधानसभा बैठक आज डाकेर १० दिनका लागि स्थगन गरिने भएको छ ।
संविधानसभा अध्यक्ष सुवास नेम्वाङले सहमतिलाई प्राथमिकता दिँदै दलहरुको भावनाअनुसार संविधानसभा बैठक १० दिनका लागि स्थगन गर्ने मनसाय राखेको बताएका छन् ।
दलहरुबीच सहमतिका लागि भोलि २९ माघमा केही त्यस्तो सङ्केत आइदिए आफू समय उपलब्ध गराउने पक्षमा रहेको खुलासा गर्दै सभाध्यक्ष नेम्वाङले अहिलेसम्म भने केही सङ्केत नदेखिएको बताए ।
बैठकमा प्रस्ताव निर्माण समितिले पेस गर्ने प्रश्नावलीसहितको प्रस्ताव टेबुल हुने जानकारी दिँदै सभाध्यक्ष नेम्वाङले सहमतिका लागि दलहरुले पाएको समय सदुपयोग हुनुपर्ने धारणा व्यक्त गरे ।
दलहरुले सहमतिका लागि पटकपटक पाएको समयमा कुनै निष्कर्ष ननिस्केको गुनासो गर्दै उनले भने, “सहमति भनेर मात्र भएन । त्यसका लागि त संवाद हुनुपर्छ ।”
प्रस्ताव निर्माण समितिको प्रश्नावलीसहितको प्रस्ताव संविधानसभाले अनुमोदनको प्रक्रियामा लैजाँदा सिधै कार्यान्वयनमा लैजान सकिने भएपनि दलहरुबीचको सहमतिबाट अनुमोदन गराउने तयारी गरिएको हो ।
२८ माघमा राष्ट्रपति रामवरण यादवसँग भएको भेटमा राष्ट्रपतिले संविधान निर्माणका बारेमा चासो र चिन्ता राखेको जानकारी दिँदै सभाध्यक्ष नेम्वाङले सहमतिमा संविधान ल्याउन दलहरुबीचको संवादहीनताको अवस्था टुट्नुपर्ने बताएका थिए ।
