समाचारशुक्रबार, फाल्गुण १, २०७१
पाँचौ दिन पनि कलैया बन्द, कान्तिपुरको गाडीमा आगजनी, कांग्रेस र एमाले कार्यालय तोडफोड

आन्दोलनकारीले आगो लगाएको कान्तिपुर पब्लिकेशनको जीप । तस्वीर: श्याम गुप्ता
बारामा प्रदर्शनकारीहरुले कान्तिपुर पब्लिकेशनको गाडीमा आगो लगाउनुका साथै नेकपा एमाले र नेपाली कांग्रेसको पार्टी कार्यालयमा तोडफोड गरेका छन् ।
मालपोत, नापी लगायतका कार्यालयहरु कलैयाबाट सिमरा सार्ने सरकारी निर्णयको विरोधमा पाँच दिनदेखि आन्दोलनरत स्थानीयहरुले आफ्नो समाचार मुख्य पृष्ठमा नछापेको भन्दै कान्तिपुर पब्लिकेशनको लु.१.च.४३३६ नम्बरको पत्रिका वितरण गर्ने जीपमा आगो लगाएका हुन् ।
प्रदर्शनकारीहरुले सदरमुकाम कलैयामा रहेको एमाले र कांग्रेस पार्टीको कार्यालयमा पनि तोडफोड गरेका छन् भने भरतचोकस्थित सशस्त्र प्रहरीको अस्थाई बिट पनि ध्वस्त पारेका छन् ।

तस्वीर: श्याम गुप्ता
स्थानीय ब्यापारीहरुले आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदा आ–आफ्ना पसल बन्द गरेका छन्, आन्दोलनकारीले सरकारी कार्यालयहरुमा ताला लगाएका छन् भने लामो तथा छोटो दुरीका यातायातका सेवा पनि ठप्प छन् ।
एकाबिहानैदेखि कलैयास्थित भरत चौकमा प्रदर्शनकारीहरुले टायर बालेपछि कलैया पूरै प्रदुषित भएको छ ।

तस्वीर: श्याम गुप्ता
१ फागुनमा भएको प्रदर्शनमा बिहानैदेखि प्रहरी र प्रदर्शनकारी बिच पटक पटक झड्प भए पनि ठूलो मुठभेड भने भएको छैन । दुबै पक्षबाट एक दर्जन जती सामान्य घाइते भएका छन् ।
प्रदर्शनकारी समूहलाई तितर बितर पार्न प्रहरीले प्रहार गरेको अशु्र ग्याँस तथा रबरको गोली लागेर आन्दोकारी तथा आन्दालनकारीले प्रहार गरेको ढुंगा लागेर प्रहरीहरु घाइते भएका हुन् ।
आन्दोलनलाई बारा उद्योग वाणिज्य संघ, लेखापढी ब्यवसायी संघ र नेपाल तरकारी तथा फलफुल खुद्रा व्यवसायी संघ कलैयाले सहयोग गरिरहेका छन् ।
श्याम गुप्ता, बारा
