समाचारशनिबार, फाल्गुण २, २०७१
सर्लाहीमा गोली चल्यो, एकको मृत्यु
-विश्वनाथ ठाकुर, सर्लाही
सर्लाहीमा प्रहरीले चलाएको गोलीबाट एक व्यक्तिको मृत्यु भएको छ भने दुइ प्रहरी जवान घाइते भएका छन् ।
खैर्वा बहुअर्वा –९ स्थित बागमती नदीको बाँधमा प्रहरी र हतियारधारी समूहबीच भएको गोली हानाहानमा एक व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सादा पोशाकमा गस्तीमा रहेको प्रहरीको बिशेष टोलीमाथि हतियारधारीले फायर गरेपछि प्रहरीको जवाफी कार्वाहीमा एक व्यक्तिको मृत्यु भएको प्रहरी उपरीक्षक सुरेश बस्नेतले बताए । मृतकको अहिलेसम्म पहिचान भएको छैन ।
मृतकको टाउकोमा गोली लागेको छ भने बाया हात भाँचिएको छ ।
मृतको साथवाट चाइनीज पेस्तोल एक थान बरामद भएको प्रहरीले जनाएको छ । भिडन्तका क्रममा प्रहरी जवान सुरेन्द्र चौधरी र सञ्जीव कुमार झा समान्य घाइते भएका छन् । चौधरीको हात भाँचिएको छ भने झाको खुट्टामा चोट लागेको छ ।
बरामद भएको हतियार १७ मंसीर २०६६ मा हरकठवाको प्रहरी टोली माथि ‘अज्ञात समूह’ले आक्रमण गरेर लुटेको चाइनिज पेस्तोल रहेको प्रहरी उपरिक्षक बस्नेतले बताए । त्यसबेला दुई जना प्रहरी घाइते भएका थिए ।
घटनाको अनुसन्धान भईरहेको प्रहरीले बताएको छ । मृतकसँगै रहेका अन्य दुईजना हतियारधारीको भागेको उपरीक्षक बस्नेतले बताए ।
