समाचारशनिबार, फाल्गुण २, २०७१
‘बीपी र मदन भण्डारीपछिकाे हुस्सु म’
-सइन्द्र राई
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफूलाई बीपी कोइराला र मदन भण्डारीसँग दाँज्दै भने, “उहाँहरु पछिको हुस्सु नेता म ।”
एमाओवादीसहितको ३० दलीय मोर्चाले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको कार्यक्रममा दाहालले आफु हुस्सु भएकैले कांग्रेस र एमालेको पक्षमा दुई तिहाई मत गएको बताए ।
उनले भने, ‘‘दोस्रो संविधानसभाको निर्वाचन हुँदै गर्दा म सपनामा रहेछु, ब्युँझदा नतिजा अर्कै आइसकेको थियो ।’’ उनले कांग्रेस र एमालेले ल्याएको दुई तिहाई मत असली जनताको नभएको आरोप लगाए ।
दाहालले बीपी कोइराला र मदन भण्डारीलाई राजाले हुस्सु बनाए जस्तै आफुलाई कांग्रेस र एमालेले हुस्सु बनाएको बताए । उनले भने, ‘‘खिलराज रेग्मी सरकार, निर्वाचन आयोगका प्रमुखलगायतलाई विश्वास गरेर निर्वाचन गराउनै गल्ती भयो । हामी हुस्सु भयौं ।’’
‘संविधान च्यातिन्छ’
दाहालले विद्वानहरुले बनाएको संविधान च्यात्ने चेतावनी दिए । उनले भने, ‘‘विद्वानहरुले ०४७ सालको जस्तै संविधान बनाउन खोजेका छन्, त्यस्तो संविधान जनताले च्यात्नेछन् ।’’
उनले नयाँ संविधानमा जनताको रगतको गन्ध आउनुपर्ने बताए । दाहालले एमाओवादी मोर्चा जनताको रगत र पसिनाको गन्ध आउने संविधान ल्याउने पक्षमा रहेको बताए ।
विदेशीको दबाबले बार्ता
प्रधानमन्त्री सुशील कोइरालासँग सिंहदरवारमा २ फागुनमा संविधान निर्माणबारे छलफल गरेर सभामा पुगेका दाहालले अन्तरराष्ट्रिय जगतले दबाब दिएकाले वार्तामा बसेको बताए ।
उनले भने, ‘‘संयुक्त राष्ट्र संघदेखि छिमेकी देशको समेत सहमतिको संविधानका लागि वार्तामा बस्नुपर्ने दबाव आएकाले प्रधानमन्त्रीसँग बार्तामा बसेको हुँ, आन्दोलन रोकिदैन ।’’
दाहालले वैद्य माओवादी, पद्मरत्न तुलाधार, ३० दलीय मोर्चा, १९ दलीय मोर्चा, ७ दलीय मोर्चादेखि विदेशीको समेतको विभिन्न दबाबमा आफु परेको बताए ।
नेताहरुको आन्दोलन
प्रणय दिवसकै दिन आयोजित सभामा भन्दा धेरै मानिस सडकमा देखेपछि दाहालले भने, ‘‘यो आमसभा होइन, नेताहरुको बैठक हो ।’’ उनले एक बर्षदेखि एमाओवादीसहितका दलहरुकोे आन्दोलन नेताहरुको बैठक मात्रै भएको बताए ।
५ माघमा संविधानसभाभित्र नेताहरुले आन्दोलन नै गरेको दाहालले बताए । उनले भने, ‘‘जनतालाई आन्दोलनमा आउनुस् भन्ने हिम्मत नभएकाले हामी आफैंले आन्दोलन गरेका हौं, अव जनताले पनि आन्दोलन गर्ने समय आयो ।’’
दाहालले कांग्रेस एमाले डेढु भएकाले एमाओवादीको उपलब्धीलाई दाबी गरिरहेको बताए । उनले भने, ‘‘काम गर्ने कालु, मकै खाने भालु ।’’



