समाचारआइतबार, फाल्गुण ३, २०७१
सरकारले निर्णय फिर्ता लिएपछि बारा उद्योग वाणिज्य संघले पनि आन्दोलन रोक्यो

तस्वीर: श्याम गुप्ता
सरकारी निर्णयको बिरोधमा अनिश्चित्कालीन कलैया बन्दको सातौं दिन विहान देखि बारा उद्योग वाणिज्य संघले आह्वान गरेकोे आन्दोलन फिर्ता लिएको छ ।
सरकारले सिमरामा मालपोत, नापी र भूमिसुधार कार्यालयहरु स्थापना गर्न ३० असोजमा गरेको निर्णय फिर्ता लिएपछि कलैया उद्योग वाणिज्य संघको नेतृत्वमा भएको आन्दोलन पनि फिर्ता भएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको चलानी नम्बर ३८२२ को पत्र अनुसार प्रधानमन्त्री कार्यालयका सचिव शान्तराज सुवेदीद्वारा जारी बिज्ञप्तिमा …मालपोत, नापी शाखासँग सम्बन्धित कार्यहरु सदरमुकाम कलैयामा रहेका कार्यालयबाट नैं पूर्ववत् रुपमा संचालन हुने ब्यहोरा जानकारी गराइएको छ ।
उता सरकारले निर्णय फिर्ता लिएपछि सिमराबासीले आन्दोलन थालेका छन् । सिमरामा नयाँ कार्यालयहरु स्थापना नहुने भएपछि स्थानीयले सवारी साधन रोकेर चक्का जाम गरेका छन् ।
यता कलैयामा उद्योग बाणिज्य संघले आन्दोलन फिर्ता लिए पनि केही आन्दोलनकारीहरुले प्रदर्शन जारी राखेका छन् ।
कलैयाका बिभिन्न स्थानामा आन्दोलनकारीहरुले बिहानै देखी टायर बालेर प्रदर्शन गरिरहेका कारण बजार, यातायात ठप्प छन् ।
उद्योग बाणिज्य संघले आन्दोलन फिर्ता लिएपछि असन्तुष्ट पक्षले कलैया सदरमुकाम बचाउ संघर्ष समिति गठन गर्दै आन्दोलनलाई जारी राखेको हो ।
बैठकले तमलोपा बाराका प्रवक्ता अरुणकुमार सिंहलाइ कलैया सदरमुकाम बचाउ संघर्ष समितिको संयोजक बनाइ आन्दोलनलाइ जारी राख्ने निर्णय गरेको हो ।

तस्वीर: श्याम गुप्ता
समितिले कलैयाबाट कुनै पनि सरकारी कार्यालय सार्न नपाइने र कलैयाबाट सारिएका बन कार्यालय, कर कार्यालय लगायतका कार्यालयहरु पुनः कलैया मै स्थापना हुनुपर्ने माग राखेको छ ।
बारा उद्योग वाणिज्य संघका अध्यक्ष विनोदप्रसाद साहले भने आफ्ना मागहरु पूरा भइसकेकाले अब आन्दोलन गर्नुको औचित्य नहुने भन्दै सबै व्यवसायीहरुलाई आ– आफ्ना पसल–व्यवसाय सुचारु गर्न आग्रह गरेका छन् ।
उद्योग वाणिज्य संघले आन्दोलन फिर्ता लिए पनि संघर्ष समितिको आन्दोलनका कारण पसलहरु खुल्न सकेका छैनन् भने यातायात पनि ठप्प छ । अहिले कलैयामा ठूलो संख्यामा प्रहरी तैनात गरिएको छ भने ठाउँठाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । झडपमा ठूलो संख्यामा प्रहरी र प्रदर्शनकारी घाइते भएका छन् ।
श्याम गुप्ता, बारा
