समाचारसोमबार, फाल्गुण ४, २०७१
गैँडा र हात्तीले हानेर दुईजना घाइते, भाले हात्तीको आक्रमणमा पोथी मर्यो
चितवनमा छुई छुट्टाछुट्टै घटनामा वन्यजन्तुको आक्रमणमा दुईजना घाइते भएका छन् । एकलाई गैँडाले र अर्कोलाई हात्तीले आक्रमण गरेको थियो ।
गैँडाको आक्रमणमा परेकी महिलाको अवस्था गम्भीर रहेको चितवन प्रहरीले जनाएको छ । प्रहरीले दिएको जानकारीअनुसार ३ फागुनमा पश्चिम चितवनको मेघौलीमा गैँडाले हानेर स्थानीय सदाबहार सामुदायिक बनमा दाउरा खोज्न गएकी ३५ वर्षीया फुलमायाँ महतो घाइते भएकी छिन् । घाइते महतोको अहिले भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
यता रत्ननगरको सौराहामा हात्तीले आक्रमण गर्दा गैँडा वाइल्डलाइफ क्याम्पमा काम गर्ने हात्ती माहुते गोरीराम महत्तो घाइते भएका छन् । हात्ती चराउन लगेका बेला चितवन निकुञ्जको पूर्वी सेक्टर सौराहामा पालिएको हात्तीले आक्रमण गरेको थियो ।
निकुञ्जमा पालिएको हात्तीले हानेर उनी घाइते भएको क्याम्पका सञ्चालक भरत बस्नेतले बताए । उनका अनुसार पोथी हात्तीलाई चराउन गएका बेला निकुञ्जको भाले हात्तीले मान्छे र पोथी हात्तीलाई एकैसाथ आक्रमण गरेको थियो ।
मत्ता भएको निकुञ्जको हात्तीको आक्रमणबाट फुत्किएर महत्तो भाग्न सफल भएका थिए । उनको पनि अहिले भरतपुर अस्पतालमा उपचार भइरहेको बस्नेतले बताए । सोही क्रममा निकुञ्जको हात्तीको आक्रमणमा आफ्नो पोथी हात्ती मरेको बस्नेतले बताए । अहिले एउटा हात्ती खरिदमा कम्तीमा रु ७० लाख पर्ने गरेको छ । रासस
