समाचारसोमबार, फाल्गुण ४, २०७१
एमालेमा फेरि विवाद, केन्द्रीय सदस्य मनोनयन र जिम्मेवारी बाँडफाँडको प्रस्ताव गरिदै
एमाले केन्द्रीय कमिटीलाई पूर्णता दिने विषयमा एमालेभित्र पुनः विवाद देखिएको छ ।
महाधिवेशनको पाँच महीनापछि गत साउनमा पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्षका प्रत्यासी माधवकुमार नेपालबीच स्थायी कमिटी र पोलिट्ब्यूरो भागबन्डा गरेर मिलाइए पनि केन्द्रीय सदस्य मनोनयन र जिम्मेवारी बाँडफाँड गर्ने विषयमा पुनः विवाद देखिएको छ ।
३ फागुनबाट शुरु भएकोे स्थायी कमिटी बैठकबाटै अध्यक्ष ओली केन्द्रीय सदस्य मनोनयन र जिम्मेवारी बाँडफाँड गर्ने तयारीमा लागेपछि नेपाल पक्षधरले यसको विरोध गरेको छ ।
पहिलो दिनको बैठकमा बोल्ने नेपाल पक्षका पदाधिकारीहरुले विधान अनुसार मापदण्ड तयार पारेर केन्द्रीय सदस्य मनोनयन र जिम्मेवारी बाँडफाँड हुनुपर्ने माग गरेका थिए ।
तर, ओलीले ४ फागनुको बैठकबाटै यसलाई टुंग्याउन महासचिव ईश्वर पोखरेललाई नामावली प्रस्तुत गर्ने जिम्मेवारी दिएका छन् । ओली निकट सचिव पृथ्वीसुब्बा गुरुङले मनोनयन र जिम्मेवारी बाँडफाँड आजै हुने बताए ।
नेपाल पक्षका सचिव योगेश भट्टराईले भने विधान अनुसार मापदण्ड बनाएर सचिवालयमा छलफल हुनुपर्ने बताए । उनले भने, ‘‘बिना छलफल पेश गरिने नामावलीमा सहमति जनाउन सकिदैन ।’’
भट्टराईले विधान अनुसार महिला, दलित, जनजाति, मधेशीलगायतलाई ध्यान दिएर समावेशी मान्यता र योग्यताको आधारमा मनोनयन र जिम्मेवारीका लागि छलफल हुनुपर्ने बताए ।
को–को बन्दैछन केन्द्रीय सदस्य ?
ओली निकट स्रोतका अनुसार महासचिव पोखरेलले घनेन्द्र बस्नेत, कृष्णगोपाल श्रेष्ठ, देवराज घिमिरे, केदार न्यौपाने, राजेन्द्र राई, बिजय सुब्बा, विनोद ढकाल, देवशंकर पौडेल, झपेन्द्र जीसीको नाम प्रस्ताव गर्दैछन् ।
यस्तै, वैकल्पिक केन्द्रीय सदस्यमा झपट रावल, रुपनारायण श्रेष्ठ, रञ्जु ठाकुर, विदुर सापकोटा, सरला यादव, हरि पराजुली र खेमचन्द्र ढकाललाई मनोनयन गरिने तयारी भइरहेको छ ।
प्रस्तावका लागि तयारी गरिएका नाम मध्ये देवशंकर पौडेल मात्रै नेपाल पक्षधर हुन् । झपट रावल नेपाल पक्षसँग महाधिवेशन यता असन्तुष्ट छन् ।
युवा संघ र अखिल विवाद
महेश बस्नेत उद्योग मन्त्री भएपछि उनले युवा संघका अध्यक्षबाट राजीनामा दिएका छन् ।
उक्त रिक्त पदमा कार्याबाहक अध्यक्ष बनेकी निरु पाललाई बैठकबाटै अध्यक्ष बनाइएपछि युवा संघमा समानान्तर कमिटी बनाउने तयारीमा उपाध्यक्ष दिलु पन्त लागेकी छन् ।
यस्तै, अखिलमा पनि विवाद चुलिएको छ । केहीदिन यता समानान्तर भेला आयोजना हुँदै आएको छ ।
नेपाल पक्षधरले अध्यक्ष किशोरविक्रम मल्ललाई अध्यक्ष नमान्ने निर्णय नै गरिसकेका छन् भने ओली पक्षका मल्ल नेपाल पक्षलाई कार्बाहीको धम्की दिदै आएका छन् ।

