समाचारसोमबार, कार्तिक ६, २०६९
बैद्य भन्छन, ‘बादल’ हाम्रो प्रधानमन्त्रीको उमेदवार
रिपोर्टर्स क्लब नेपालले बैद्य निवास मनमैजु काठमाडौंमा गरेको साक्षात्कारमा उनले भने, “हामी कांग्रेससहित अरु कसैको पनि नेतृत्व मान्दैनौ ।” उनले थपे, “हाम्रो पार्टीबाट बादलजीले नेतृत्व गर्नु पर्छ, यो हाम्रो दावी हो ।”
अध्यक्ष बैद्यले प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकार हट्नै पर्ने भन्दै कांग्रेस र एमालेले सडक आन्दोलन शुरु गरे त्यसमा आफ्नो पार्टीको पनि समर्थन हुने स्पष्ट पारे । उनले भने, “सहमति बनेन भने सडकबाट सरकार परिवर्तन गर्नु र संविधान जारी गर्नुको विकल्प छैन ।”
“कांग्रेस र एमाले नाङलो र सुपो ठटाएर हात्ति तर्साउने जस्तो गरेर भाषणबाट प्रधानमन्त्री तर्साउने योजनामा छन्,” बैद्यले ब्यङ्ग्य गरे, “मलाई उनीहरुले आन्दोलन गर्लान जस्तो लाग्दैन, यदि सडक आन्दोलन गरे भने हाम्रो समर्थन रहन्छ ।”
संविधानसभाको पुनःस्थापना र निर्वाचन दुबै विकल्पमा आफ्नो पार्टी खुल्ला रहेको भन्दै पुनःस्थापना गर्ने भए संविधानको अन्र्तबस्तुमा सहमति गर्नु पर्ने र निर्वाचनमा जाने भए सरकार परिवर्तन गर्नु पर्ने उनको प्रस्ताव थियो ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तामा टिकिरहन पहिला निर्वाचन र पछि संविधानसभा पुनःस्थापनाको प्रस्ताव राखेको आरोप लगाउँदै भने, “२५ वर्षसम्म सत्ता बचाउने रणनीति भएको त प्रचण्डले नै भनिसकेका छन नि ।”
गोलमेच सम्मेलनको अडान ब्यक्त गर्दै आएका उनले सर्वाेच्च अदालत, राष्ट्रपति र दलहरुवीच छलफल गरी निकास खोज्नु पर्ने नयाँ प्रस्ताव गरे । यद्यपि उनले अहिलेको संविधानसभाले संविधान बनाउन नसक्ने भएकोले अगाडिको बाटो पहिल्याउन मात्र संविधानसभाको पुनःस्थापना उपयूक्त हुने धारणा राखे ।
