समाचारसोमबार, फाल्गुण ४, २०७१
शिवलिङ्ग, नागा बाबा र भक्तिसङ्गीतको आकर्षण
शिवरात्रिका अवसरमा पाशुपत क्षेत्र वनकालीमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले निर्माण गरेको करिब १० मि अग्लो शिवलिङ्ग भक्तजनको आकर्षण बनेको छ ।
कपडा र बाँसबाट निर्मित शिवलिङ्गबाट पानी पनि खसालिएको छ । त्यसलाई परिक्रमा गर्ने व्यवस्था मिलाइएको छ । सँगै शिव र पार्वतीरुपी साना बालबालिका कैलाशपर्वतमा ध्यान गरेर बसेका छन् ।
“शिवलिङ्ग, करिब ३५० नागाबाबा र अर्धसर्वाङ्ग महिला साधु यस वर्षका आकर्षण हुन, उच्चस्तरका करिब दश स्वामीहरु पनि आउनुभएको छ”पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा गोविन्द टण्डनले बताए ।
उनका अनुसार यस वर्ष करिब ३ हजार ५०० सय साधुसन्त शिवरात्री मेलामा सहभागी हुँदैछन् । वनारसका पगलानाथ र आइरनबाबा पशुपतिमा आइसकेका छन् ।
वनकालीमै कोष र पशुपति सङ्गीत प्रतिष्ठानको आयोजनामा तीनदिने भक्तिसङ्गीतले पाशुपत क्षेत्र नै घन्किरहेको छ । कहीँ साधुसन्तलाई भण्डारा लगाइँदै छ भने कतै स्वास्थ्य शिविर चल्दैछ ।
रायमाझी कुलदेवता केन्द्रीय समितिले सोमबारदेखि शुरु भएको विशेषज्ञसहितको स्वास्थ्य शिविरमा करिब दुई हजारले सेवा लिइसकेको समितिका प्रकाश रायमाझीले जानकारी दिए ।
बाह्र ज्योतिर्लिङग मध्येका महाज्योतिर्लिङ्ग पशुपतिनाथ मानिसलाई पशुभाव र पाश९बन्धन०बाट मुक्त गराउने कल्याण र त्यागका प्रतिमूर्ति हुन् ।
“पशुपतिनाथ केदारनाथको शिर नै हुन् ”डा टण्डनले भने ।
हरिद्वारबाट आएका साधु नन्दीपालले आफू हरेक वर्ष मित्र साधुहरुसँग पशुपतिनाथ आउने गरेको बताए ।
“यहाँ आएपछि आनन्द र सुखको अपूर्व अनुभूति मिल्छ”उनले भने ।
श्याम रिमाल, रासस
