समाचारसोमबार, फाल्गुण ४, २०७१
आन्दोलनको धम्की दिनेले आफ्नो हैसियत बुझुन्: रामजनम चौधरी
मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका महासचिव रामजनम चौधरीले सद्भावना अध्यक्ष राजेन्द्र महतोले आफ्नो हैसियत विर्सिएर फोरम अध्यक्ष गच्छदारमाथि आरोप लगाएको बताएका छन् ।
यसअघि सद्भावना पार्टीका अध्यक्ष महतोले फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार कांग्रेसमा प्रवेश गर्न लागेको आरोप लगाउँदै आन्दोलन भाँड्न खोजेको बताएका थिए ।
चौधरीले आन्दोलनका नाममा मुलुकलाई बन्धकमा राख्न नसकिने भन्दै थपे ‘‘आन्दोलनसँगै देशलाई निकास दिने गरी अध्यक्ष (विजय गच्छदार)ले प्रस्ताव राख्नुभएको छ, यसबाट केही मानिस आत्तिएका छन् ।’’
हिमालखबरसँग कुरा गर्दै उनले भने, ‘‘निर्वाचनमा एक सीट ल्याउने, आन्दोलनमा चार जना मान्छे भेला पार्न नसक्नेले अान्दाेलनकाे धम्की दिनुको अर्थ छैन ।’’ महतोले आफ्नो हैसियत बिर्सेर मधेशको ठेकेदार बन्न खोजेको चौधरीले आरोप लगाए ।
उनले कांग्रेस र एमाले पनि गच्छदारको प्रस्तावमा छलफल गर्न तयार हुनुपर्ने बताए । नयाँ संविधानका लागि धेरै विषयमा सहमति भइसकेकाले सहमतिबाटै संविधान ल्याउन सकिने उनको भनाई छ । ‘‘प्रस्तावलाई कुनै एक व्यक्तिले जस लिन खोजेको रुपमा अर्थ्याएर मात्रै हुँदैन, अहिले मिडिया, जनता र अन्तर्राष्ट्रिय जगतमा गच्छदारको प्रस्तावबारे कुरा उठेपछि केही साथीहरु डराएका छन्,’’ चौधरीले भने ।
यसअघि संविधानसभाकाे निर्वाचनका बेला महतोले गच्छदारलाई गद्दार घाेषणा गर्दै हिडेकाले नै उनले निर्वाचन हारेको चौधरीको दाबी छ ।
