समाचारमंगलबार, फाल्गुण ५, २०७१
सातसय वर्ष पुरानो गुम्बामा आगलागी, करोडौंको क्षति
उत्तरी गोरखाको सामागाउँ–६ मा रहेको ७ सय वर्ष पुरानो लाप्राङ गुम्बा जलेर नष्ट भएको छ ।
गुम्बामा आगो लागेपछि त्यहाँ रहेका बुद्धका मूर्ति, चाँदीका सिक्का, नगद पैसा, हीरा, लत्ताकपडा र काठ जलेर नष्ट भएका छन् । गुम्बाभित्र बालेको टुकी ढलेपछि सल्केको आगोले गुम्बा जलेर खरानी भएको स्थानीय बासिन्दा मिङमार छिरिङ लामाले जानकारी दिए ।
४ फागुन राति करिब ११ बजेतिर गुम्बामा आगो लागेको थियो । स्थानीय बासिन्दाले बिहान ३ बजेतिरमात्रै गुम्बा जलेको थाहा पाएका थिए ।
“गुम्बा जलेको थाहा पाएपछि गाउँले सबै भेला भए । केही गरे पनि गुम्बामा दन्केको आगो निभाउन सकिएन”, लामाले टेलिफोनमा भने, “हिउँ जमेकाले गुम्बाको छानो जलेको छैन ।”
“पुरातात्विक महत्वको गुम्बाभित्र धेरै वर्ष पुराना किताब थिए,” लामाले भने, “बुद्ध धर्मसम्बन्धी महत्वपूर्ण दर्जनभन्दा बढी किताब जलेर खरानी भएका छन् ।” हिउँ परेकाले गुम्बामा सल्केको आगो निभाउने पानी नपाएको उनले बताए ।
“जताततै हिउँ परेको छ, हिउँले आगो निभेन, पानी ल्याउन सकिएन,” उनले भने । आगालागीबाट करोडौँको क्षति भएको लामाले बताए ।
गुम्बा पूर्णरुपमा जलेको सामागाउँ प्रहरी चौकीले पनि पुष्टी गरेको छ । तत्कालीन मुख्य लामा टासी दोर्जेको नाममा रहेको गुम्बा जलेको हो । उक्त गुम्बा गोरखा सदरमुकामदेखि ५२ कोश टाढा पर्छ ।
रासस
