समाचारमंगलबार, कार्तिक ७, २०६९
आज महानवमी, हर्षोल्लासका साथ मनाईंदै
पुराणअनुसार महानवमीका दिन चामुण्डादेवीले रक्तबीज असुरको संहार गरेकाले यस पर्वलाई विशेष महत्वका साथ लिइन्छ । कतिपय ठाउँमा आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि पनि चढाइन्छ ।
घटस्थापनाका दिन घरघरमा विधिपूर्वक राखिएको जमरा महानवमीका दिन विभिन्न शक्तिपीठमा चढाउने प्रचलन छ । यस उपलक्ष्यमा आज दशैं घर र कोतलगायत देशका विभिन्न देवीका मन्दिर र शक्तिपीठहरूमा बलिसहित विशेष पूजाअर्चना र पाठ गर्ने गरिन्छ । शाकाहारीहरूले भने कुभिन्डो, घिरौला र मूला आदिको बलि दिने तथा नरिवल चढाउने गर्छन् ।
यस पर्वमा कोतहरूमा हर्ष बढाइँका साथ कोतपूजा र निशानपूजा पनि गरिन्छ ।
महानवमीका अवसरमा बिहान हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक तथा गुल्महरूमा बाजागाजासहित बलि दिएर जङ्गी निशान पूजा तथा कोतपूजा गर्ने प्रचलन छ ।
काठमाडौंको हनुमानढोकास्थित ऐतिहासिक तलेजु भवानीको मन्दिर सर्वसाधारणको दर्शनका लागि महानवमीका दिन मात्र खोल्ने गरिएको छ ।
