समाचारशुक्रबार, फाल्गुण ८, २०७१
वार्तामा आउन मोर्चालाई प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री सुशील कोइरालाले एमाओवादीसहितको विपक्षी मोर्चालाई वार्तामा आउन आग्रह गरेका छन् ।
सरकारको एक बर्षे कार्यकालको उपलब्धी सार्वजनिक गर्दे प्रधानमन्त्री कोइरालाले सहमतिमा संविधान निर्माण गर्न वार्तामा आउन मोर्चालाई आग्रह गरेका छन् । उनले आन्दोलन छाडेर वार्तामा आउदा मात्रै सहमतिबाट संविधान जारी गर्न सकिने बताए ।
प्रधानमन्त्री कोइरालाले मोर्चालाई वार्तामा बस्न जनताले दबाव दिनुपर्ने बताए । उनले भने, ‘‘संविधान निर्माणको कार्यलाई गति दिन सबै पक्षलाई घचघच्याउन समेत नेपाली जनतालाई आग्रह गर्दछु ।’’
प्रधानमन्त्री कोइरालाले संविधानसभाले तय गरेको कार्यतालिका अनुसार संविधान ल्याउन नसकेकोमा आफु दुखित भएको बताए । प्रधानमन्त्रीले भने, ‘‘एक बर्षभित्र संविधान बनाउन मैले अथक प्रयत्न गरे, तर संविधान बनाउन सकिएन ।’’
उनले अन्तरिम संविधानको मर्म र भावना अनुसार संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी शासन प्रणालीलाई संस्थागत गर्न प्रयत्न गरिने बताए ।
