समाचारशुक्रबार, फाल्गुण ८, २०७१
उपेन्द्र यादवको आरोप: कांग्रेस–एमालेले पूर्वराजासँग साँठगाँठ गरेका थिए
मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेस र नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहसँग साँठगाँठ गरेको आरोप लगाएका छन् ।
रिपोर्टर्स क्लब नेपालले ८ माघमा आयोजना गरेको साक्षात्कारमा यादवले पूर्वराजासँग कांग्रेस र एमालेको गोप्य सहमति भएकाले त्यसको भण्डाफोर हुनुपर्ने बताए ।
“कांग्रेस र एमालेले ज्ञानेन्द्र शाहसँग साँठगाँठ गरेका छन्,” यादवले भने, “पूर्वराजासँग विगतमा के सहमति भएको हो त्यसको खुलासा हुनुपर्छ ।”
गणतन्त्र स्थापनापूर्व बेबि किङ, सेरेमोनियल किङको विषय कांग्रेस र एमालेले उठाउने गरेकाले गोप्य सहमति भएको बुझ्न सकिने यादवको दाबी छ ।
उनले पहिलो संविधानसभाको बैठकमा गणतन्त्र घोषणा हुनु पूर्व कांग्रेस र एमालेले गरेको सहमति बारे खुलासा गर्न पूर्व राजा ज्ञानेन्द्र शाहलाई आग्रह पनि गरे ।
सत्ताका लागि कांग्रेस र एमालेले जेसुकै गतिविधि गर्ने गरेको आरोप लगाउँदै उनले इतिहासको वास्तविक घटनालाले कांग्रेस र एमालेको वास्तविक चरित्र उजागर गर्ने दाबी समेत गरेका थिए ।
प्रजातन्त्र दिवसको अघिल्लो दिन पूर्व राजा ज्ञानेन्द्र शाहले विज्ञप्तिमार्फत् आफूसँग भएको सहमति कार्यान्वयन गर्न दलहरुलाई आग्रह गरेको सन्दर्भमा यादवको पछिल्लो भनाई सार्वजनिक भएको हो ।
यद्यपी कांग्रेस र एमालेका नेताहरुले पूर्व राजा ज्ञानेन्द्रसँग कुनै गोप्य सहमति नभएको बताइसकेका छन् ।
