समाचारशनिबार, फाल्गुण ९, २०७१

गुदी छोडेर बोक्रामा विवाद: विज्ञ

हिमालखबर

गुदी कुरामा भन्दा बोक्रा कुरामा विवाद भएको, नेताको व्यक्तिगत स्वार्थ बाझेको र केही नेतामा निर्णय गर्ने अधिकार थुप्रिएकाले संविधान हालसम्म नबनेको सङ्घीयतासम्बन्धी विज्ञले बताएका छन् ।

ललितपुर बार एसोसिएसनले आयोजना गरेको वैचारिक कार्यक्रममा उनीहरूले सङ्घीयताको गुदी विषय– समावेशी र समानुपातिक प्रणाली, अधिकार र स्रोत साधनको बाँडफाँट तथा विकासको वितरणका विषयमा छलफल नगरी बोक्रा विषय– प्रदेशको नाम, सङ्ख्या र सीमामा बहस र विवाद भएको बताए ।

सभासद् श्याम श्रेष्ठले नेपालमा कुनै एक जातीय समुदायको पूर्ण बहुमत नभएको भन्दै बाहुल्यलाई स्वीकार गर्दा एक प्रकारको र अस्वीकार गर्दा अर्को प्रकारको सङ्घीयता बन्ने बताए । उनले संविधानसभामा पाखा परेको जनतालाई समावेश गर्नेभन्दा प्रदेशको नाम, सीमा र सङ्ख्यामा बहस र विवाद भएको तथा नेताहरूको व्यक्तिगत स्वार्थका कारण सहमति हुन नसकेको विचार व्यक्त गरे ।

श्रेष्ठले भने, “अखण्ड जिल्ला र क्षेत्रको अडान तथा सीमा निर्धारण आयोग र जनमत सङ्ग्रहका विषयमा मतभेदका कारण सङ्घीयताको विषय नै असहमतिका कारण बनेको हो, जातीय जनसङ्ख्याको सम्मान, सबै भाषा र संस्कृतिलाई मान्यता र सघन बसोवासको शासकीय स्वायत्तपनामा सहमति भए अन्य विषयमा सरल रूपमा सहमति हुन्छ ।”

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा पीताम्बर शर्माले नेपालमा जस्तो सामाजिक संरचना छ त्यसलाई राज्य सञ्चालनको तहसम्म पुर्या उन, राजनीतिक, आर्थिक तथा सामाजिक असमानता हटाउन, शक्ति तल्लो तहसम्म विकेन्द्रित गर्न सङ्घीयता आवश्यक भएको बताए ।

उनले यस्ता जरुरी विषयको सम्बोधनका लागि कस्तो ढाँचाको संघीयता आवश्यक हुन्छ भन्ने विषयमा नभई नाम र संख्यामा मात्रै दलहरु रुमल्लिंदा संविधान निर्माणमै असर परेको बताए ।

डा शर्माले पहिचान, समावेशी विकास तथा शक्तिको विकेन्द्रीकरण दिन सक्ने सङ्घीयता सबैभन्दा राम्रो हुने र पहिचान र क्षमतालाई मिलाएर लैजाँदा सङ्घीयता दिगो हुने बताए ।

उनले भने, “जातीय पहिचान विकासको एक महत्वपूर्ण भाग हो, नेपाल बहुसांस्कृतिक मुलुक भएको कुरालाई स्वीकार गर्दै बहुजातीय ६ देखि ८ पहिचान क्षेत्र बनाउन सकिन्छ, त्यसबाट प्रमुख जलाधारलाई संरक्षण गर्दै स्थानीय तहमा स्वशासनलाई बलियो बनाउन सकिन्छ ।”

अधिवक्ता, न्यायाधीश तथा राजनीतिक दलका नेताको सहभागितामा आयोजित उक्त कार्यक्रममा ललितपुर बार एसोसिएसनका अध्यक्ष प्रकाश महर्जनले वर्तमान नेपालमा राजनीतिक नेता तथा दलबीच व्यक्तिगत स्वार्थका कारण असहमति, तीतोपना तथा द्वन्द्व बढेको अवस्थामा देशलाई माया गर्ने बुद्धिजीवी तथा विशेषज्ञको धारणा बुझ्नु र उनीहरूलाई सुन्नु आवश्यक भएको बताएका थिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>