समाचारआइतबार, फाल्गुण १०, २०७१
काठमाडौंमा दुई किशोरीमाथि एसिड प्रहार
काठमाडौंको वसन्तपुरमा ट्युसन पढ्न पुगेका दुई किशोरीमाथि एसिड प्रहार भएको छ ।
वसन्तपुर झोंछेस्थित ट्युसन सेन्टरमा १० फागुन विहान पढिरहेका किशोरीमाथि एसिड प्रहार भएको हो ।
दुई किशोरीमध्ये रामेछाप खनियापानी घर भई काठमाडौंमा अध्ययनरत संगीता मगरकोे काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । अर्की किशोरी रौतहटकी सीमा बस्नेतको बीर अस्पतालमा उपचार भइरहेको छ ।
शिक्षक आउन ढिला भएपछि किशोरीहरु आफैं कक्षा कोठामा पढिरहेका बेला मास्क लगाएर आएका केटाहरुले एसिड हानेर भागेको किशोरीका परिवारले बताएका छन् । एसिड प्रहार गर्नेको पहिचान हुन सकेको छैन ।
शान्ति निकुञ्ज स्कुलका छात्रा दुवै किशोरी एसएलसी तयारीमा ट्युशन लिइरहेका थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
