समाचारआइतबार, फाल्गुण १०, २०७१
सिमरामा तनाव, प्रहरी बीट जलाइयो

फाइल तस्वीर: सिमरामा ९ फागुनको आन्दोलन
बाराको सिमरामा जारी आन्दोलनको आठौं दिनमा प्रहरी र स्थानीयवीच झडप हुँदा सिमरा बजार तनावग्रस्त बनेको छ ।
स्थानीयवासीले मालपोत, नापी र भूमिसुधार कार्यालय स्थापनाको माग गर्दै निकालेको जुलुसमाथि प्रहरीले हस्तक्षेप गरेपछि दुबै पक्षबीच झडप भएको छ ।
९ फागुनदेखि आम हड्तालमा उत्रिएका स्थानीय र प्रहरीवीच १० फागुन बिहानैबाट झडप भएको हो । प्रहरीले आन्दोलनकारीलाई तितरवितर पार्न अश्रुग्याँस प्रहार गरेको छ भने प्रहरीमाथि प्रदर्शनकारीले ढुंगा प्रहार गरेका छन् । दुवै तर्फका केही घाइते समेत भएका छन् ।
आक्रोशित आन्दोलनकारीले सिमरा बजारमा रहेको प्रहरी बिटमा आगजनी गरेका छन् । उनीहरुले एउटा एम्बुलेन्स र मोटरसाइकल पनि तोडफोड गरेका छन् । एम्बुलेन्सका ड्राइभरको टाउको र अनुहारमा चोट लागेकोले बीरगञ्जस्थित अस्पतालमा पु¥याइएको स्थानीय पत्रकार जियालाल साहले जानकारी दिए ।
आमड्तालका कारण सिमरा क्षेत्रमा यातायातका साधन चल्न सकेका छैनन् । बजार र शिक्षण संस्थासमेत बन्द छन् ।
कलैयामा भएको आन्दोलनको दबाबमा सिमरामा एकीकृत सेवा केन्द्रको अवधारणा अनुसार भूमिसुधार, मालपोत र नापीलगायतका कार्यालय स्थापना गर्ने निर्णय सरकारले फिर्ता लिएको विरोधमा सिमराबासी आन्दोलनमा उत्रेका हुन् ।
