समाचारआइतबार, फाल्गुण १०, २०७१
युवा संघको छुट्टा–छुट्टै भेला
उद्योग मन्त्री बनेसँगै महेश बस्नेतले राजिनामा दिएपछि नेकपा एमालेको जनवर्गीय संगठन युवा संघमा विवाद चर्किएको छ ।
अध्यक्ष बस्नेतको राजिनामा स्वीकृत गर्दै उपाध्यक्ष निरुदेवी पाललाई अध्यक्ष बनाउने निर्णय गरेलगत्तै संघको विवाद चुलिएको हो । २१ माघमा बसेकाे पदाधिकारीको बैठकले अध्यक्ष बस्नेत र उपाध्यक्ष झपट रावलको राजिनामा स्वीकृत गर्दै रिक्त पदमा मनोनयन गरेको थियो ।
पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षधरले आफुखुशी विधान मिचेर बढुवा गरेको भन्दै बरिष्ठ नेता माधवकुमार नेपाल पक्षधरले विरोध जनाउदै आएको छ ।
नेपाल पक्षबाट उपाध्यक्ष दिलु पन्तले आफ्नो माग सुनुवाई नभएको भन्दै छुट्टै भेला आयोजना गर्दै आएका छन् भने ओली पक्षधरबाट निरुदेवी पालले भेला आयोजना गरिरहेका छन् ।
११ फागुनमा निरुदेवी पाल र दिलु पन्तले छुट्टाछुट्टै केन्द्रीय कमिटीको बैठक बोलाएका छन् ।
पन्तले आफुहरुको माग सुनुवाई नगरी बैठक बोलाइएकाले छुट्टै केन्द्रीय कमिटीको बैठक बोलाइएको बताइन्। उनले भनिन्, ‘‘विधान विपरीत गरिएका निर्णय फिर्ता नगरी बैठक बोलाइएकाले हामीले छुट्टै बैठक बोलाएका हौं ।’’
यता, ओली पक्षधरहरुले भने विधान अनुसार नै रिक्त पदमा बढुवा गरिएको दावी गर्दै आएका छन् ।
एमाले युवा विभागका प्रमुख शेरबहादुर तामाङले दुवै पक्षलाई बैठक स्थगित गर्न आग्रह गरेका छन् । उनले भने, ‘‘यो विवाद निरु पाल र दिलु पन्तको होइन, पार्टीको नेताहरुको हो । तैपनि मिलाउने प्रयत्न गरिरहेको छु ।’’
