समाचारआइतबार, फाल्गुण १०, २०७१
सात दिनदेखि सिमरा बन्द, झडपमा दर्जनौं घाईते (तस्वीरसहित)

तस्वीर: श्याम गुप्ता
बाराको सिमरामा जारी आन्दोलनका क्रममा भएको झडपमा १० जना प्रहरी र करिब २५ जना आन्दोलनकारी घाइते भएका छन् ।
मालपोत, नापी तथा भूमिसुधार कार्यालय स्थापना गर्ने आफ्नो निर्णयबाट सरकार पछि हटेको भन्दै विरोधमा भएको आन्दोलनमा प्रदर्शनकारीहरुले सड्क अवरुद्ध गर्नुका साथै सिमरा बजार बन्द गराएका छन् ।

तस्वीर: श्याम गुप्ता
विहान १० वजे आन्दोलनकारीले अवरुद्ध पारेको राजमार्ग खुलाउन प्रहरीले बल प्रयोग गर्दा झण्डै २ घण्टा सम्म चलेको झडपमा प्रहरी निरीक्षकसहित सशस्त्र प्रहरी र नेपाल प्रहरीका दर्जन भन्दा वढी घाईते भएको बाराका प्रहरी उपरीक्षक लोकेन्द्र बहादुर मल्लले जानकारी दिए ।
त्यसैगरी आन्दोलनकारीतर्फ करिब २५ जना घाईते भएको सेवा केन्द्र स्थापना सरोकार समिति सिमराका सदस्य कृष्ण पौडलले बताए । घाइते मध्ये नसीम हुसेनको अवस्था गम्भीर छ ।
झडपका क्रममा माउन्टेन टेलिभिजनका बारा संवाददाता गणेशराज रिजा घाइते भएका छन् भने इमेज टेलिभिजन बाराका संवाददाता प्रकाश लम्सालको मोटरसाईकलमा क्षति पुगेको छ ।

तस्वीर: श्याम गुप्ता
दोहोरो ढुंगा हानाहानमा बजारका घरका सिसाहरु समेत फुटेका छन् ।
.
आन्दोलनले गर्दा वीरगञ्ज–पथलैया सडकमा सवारी आवतजावत गर्न सकेका छैनन ।
झडपमा प्रहरीले करिब दुई सय राउण्ड अश्रु ग्याँस र रवर गोली फायर गरेको थियो भने प्रदर्शनकारीले ढुंगा, खाली बोत्तलले प्रहरीमाथि प्रहार गरेका थिए ।

तस्वीर: श्याम गुप्ता
प्रहरी पोष्टमा आगजनी, एम्बुलेन्स तोडफोड
२ घण्टासम्म झडप हुँदा पनि आन्दोलनकारी नियन्त्रणमा नआएपछि प्रहरीले थप बल प्रयोग गरेन ।
आक्रोशित प्रदर्शनकारीले सिमरा विमानस्थाल जाने वाटोमा रहेको नेपाल प्रहरीको बीट र अस्थाई ट्राफिक पोष्ट जलाएका छन् ।
यसैबीच रौतहटको शिवनगरबाट विरामी लिएर वीरगञ्ज तर्फ जाँदै गरेको एम्बुलेन्स आन्दोलनकारीहरुले तोडफोड गरेका छन् ।
एम्वुलेन्समाथि प्रहार भएको बोत्तल, ढुङगा लागेर विरामी बिन्दालाल राय उनका छोरा पवन र राजकुमार साथै चालक अशोककुमार राउत घाइते भएका छन् ।
घाइतेहरुको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
श्याम गुप्ता, बारा र जियालाल साह, वीरगञ्ज
