समाचारआइतबार, फाल्गुण १०, २०७१
‘१६ गतेसम्म पनि वार्तामा नआए प्रक्रिया शुरु हुन्छ’

तस्वीर सौजन्य: रिपोर्टर्स क्लब
उपप्रधानमन्त्री वामदेव गौतमले एमाओवादीसहितको विपक्षी मोर्चा १६ फागुनसम्म पनि वार्तामा नआए प्रक्रियामा गएर संविधान जारी गर्ने बताएका छन् ।
रिपोर्टर्स क्लबले बुझाएको ज्ञापन पत्र १० फागुनमा गृहमन्त्रालयमा बुझ्दै उपप्रधानमन्त्री गौतमले आफूहरु एमाओवादीलाई धेरै समयसम्म कुरेर बस्न सक्ने अवस्थामा नरहेको बताए ।
“हामी अझै वार्ताबाट समस्याको हल निकालौं भन्ने पक्षमा छौं,” एमाले उपाध्यक्षसमेत रहेका गौतमले भने, “हामी यतिसम्म लचिलो हुँदा कमजोरी ठानिन्छ भने देशलाई सधै अनिर्णयको बन्दी बनाउन संकिदैन प्रक्रियाबाटै संविधान जारी हुन्छ ।”
वार्ताका लागि अझै केही समय कुर्ने स्पष्ट पार्दै त्यसपछि पनि संविधानसभाबाट भाग्न एमाओवादीले निहुँ खोजिरहे प्रक्रिया अघि बढाइने उनले जानकारी दिए ।
उनले एमाओवादी नेतृत्वको मोर्चाले भनेजस्तो सशर्त वार्ता हुननसक्ने पनि स्पष्ट पारे । भने, “वार्ता भयो भने निशर्त हुन्छ, सशर्त हुँदैन ।”
संविधानसभालाई असफल पार्ने षड्यन्त्र भइरहेको भन्दै गौतमले त्यसलाई कदापि सफल हुन नदिने बताए । उनले थपे, “संविधानसभालाई असफल बनाउन खोज्नेहरु आफै असफल हुनेछन् ।”
‘जहाँसुकै जुनसुकै बेला वार्ता गर्न तयार छौं’
वार्ताको समय र स्थान समेत खुल्ला राखेको बताउँदै उनले आफूहरु जहाँसुकै जुनसुकै समयमा वार्ताका लागि तयार रहेको बताए ।
गौतमले भने, “बहुपहिचान हाम्रो पहिचान हो । १२५ जातिको राज्य बनाउन सकिदैन । यी बाहेक हामी सबै कुरामा सहमति गर्न तयार छौ ।”
उनले जातीय राज्यले मुठभेड ल्याउँछ भन्दा आफूहरुमाथि संविधानसभामा आक्रमण भएको दाबी गरे ।
