समाचारसोमबार, फाल्गुण ११, २०७१
युवा संघमा समानान्तर केन्द्रीय कमिटी बैठक
नेकपा एमालेको युवा संगठन युवा संघको विवाद चुलिदै गएपछि समानान्तर केन्द्रीय कमिटीको बैठक बस्दैछ ।
पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षधरले बानेश्वरको अल्फाबिटामा र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षधरले अर्याल होटलमा बैठक बोलाएका छन् ।
अध्यक्ष महेश बस्नेत र उपाध्यक्ष झपट रावलले राजिनामा दिएपछि रिक्त पदहरुमा पदाधिकारी बैठकले मनोनयन गरेपछि विवाद बढ्दै गएको हो । २१ माघमा पदाधिकारी बैठकबाट ओली पक्षले उपाध्यक्ष निरु पाललाई अध्यक्षसहित रिक्त पदहरुमा बढुवा गरेपछि असन्तुष्ट पक्षले छुट्टै बैठक बोलाएका छन् ।
ओली पक्षले विधान अनुसार रिक्त स्थानमा बढुवा गरेको दावी गरेको छ भने नेपाल पक्षले विधान मिचेर बढुवा गरिएको आरोप लगाएको छ । होटल अर्यालमा भेला बोलाएको समूहको नेतृत्व उपाध्यक्ष दिलु पन्त र ओली पक्षबाट पालले बैठकको अध्यक्षता गर्दैछन् ।
पन्तले भनिन्, ‘‘विधान बिपरीत पदाधिकारी बैठकबाटै पद पूर्ती गर्ने काम भएकाले छुट्टै बैठक बोलाएका छौं, माग पूरा नभएसम्म हामी छुट्टै बैठक बस्छौं ।’’ ओली पक्षका नेता प्रभावविक्रम कट्वालले भने असन्तुष्टलाई पनि बैठकमा बोलाएको बताए ।
रिक्त पदमा मनोनयन गर्न बसेको २१ माघको बैठकमा संघका सात पदाधिकारीले असहमति जनाएका थिए ।
