समाचारमंगलबार, फाल्गुण १२, २०७१

सिमराको आन्दोलन स्थगित, वीरगन्ज–पथलैया सडकखण्ड सुचारु

हिमालखबर

simaraबाराको सिमरामा सेवा केन्द्र स्थापनाको सरकारको अघिल्लो निर्णय कार्यान्वयनको माग राखेर भएको आन्दोलन १२ फागुनदेखि स्थगित भएको छ ।

सिमरामा ११ फागुन राति अबेरसम्म बसेको मालपोत कार्यालय सिमरा स्थापना सरोकार समिति र राजनीतिक दलका नेताहरु सहभागी बैठकले अनिश्चितकालीन आम हडताल र राजमार्ग अवरुद्ध पार्ने कार्यक्रम स्थगन गर्ने निर्णय गरेको समितिका संंयोजक भोला अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार सरकारले वार्ता र संवादमार्फत समस्या सामधान गर्न आग्रह गरेकाले आमअडताल र चक्काजामको कार्यक्रम स्थगन गरिएको हो ।

सिमराको होटल पाराडाइजमा राखिएको बैठकले सिमरामा जारी आन्दोलन हिंस्रक र अराजक बन्दै गएको तथा प्रहरी प्रशासनले स्थानीयवासीमाथि दमन गरेको ठहर गर्दै आफ्ना माग पूरा गर्न आन्दोलनको स्वरुप परिवर्तन गरी शान्तिपूर्ण दबाबमूलक कार्यक्रममात्र गर्ने समितिले निर्णय गरेको हो ।

उनका अनुसार माग पूरा गराउन दबाब दिन तत्कालै एक टोली प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन काठमाडौँ जाने निर्णय पनि भएको छ ।

सरोकार समितिका संयोजक भोला अधिकारीको अध्यक्षतामा बसेको बैठकले गरेको आन्दोलन स्थगित गर्ने निर्णयपत्रमा संयोजक अधिकारीसँगै नेपाली कांग्रेसका छविलाल पौडेल, नेकपा एमालेका कृष्ण खनाल, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका राधादेवी साह, राप्रपा नेपालका सुरज लम्साल र राष्ट्रिय जनमोर्चाका कर्ण थापाले हस्ताक्षर गरेका छन् ।

सिमरामा मालपोत र नापी कार्यालय स्थापना गर्ने सरकारको निर्णयविरुद्ध सदरमुकाम कलैयामा चर्को आन्दोलन भएपछि सरकारले निर्णय फिर्ता लिएसँगै ३ फागुनदेखि चरणबद्ध आन्दोलनमा उत्रिएका सिमराका बासिन्दाले ८ फागुनदेखि भने अनिश्चितकालीन आम हडताल र राजमार्ग अवरुद्ध पार्दै आएका थिए ।

सरोकार समितिले आमहडताल र चक्काजामको कार्यक्रम स्थगन गरेसँगै सिमराको जनजीवन सामान्य बन्दै गएको छ । आन्दोलन स्थगित भएलगत्तै वीरगन्ज–पथलैया सडकखण्डमा सवारी साधन पनि सञ्चालनमा आएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>