समाचारमंगलबार, फाल्गुण १२, २०७१
दाहालले एकदुई दिन पर्खन भनेपछि कोइराला खिन्न
प्रधानमन्त्री सुशील कोइरालाले विभिन्न संवैधानिक निकायमा रिक्त पदाधिकारी नियुक्तिमा ढिलाइ भएकोप्रति चिन्ता व्यक्त गरेका छन् ।
नेपाल निजामती कर्मचारी युनियनको रजत महोत्सवको अवसरमा १२ फागुनमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री कोइरालाले संवैधानिक परिषद्को बैठकमा केही निर्णय हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।
कोइरालाले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले निर्णयका लागि एक/दुई दिन पर्खन आग्रह गरेको जानकारी दिए ।
उनले मुलुकको वर्तमान अवस्थाबाट आफू निरास नभएको भन्दै अहिले लगानी र विकासका ठूल्ठूला पूर्वाधार शुरु भएको र स्वदेशी तथा विदेशी लगानीकर्ता लगानीका लागि उत्साहित रहेको दाबी गरे ।
संविधानसभामा ५ माघमा एमाओवादी सभासदले गरेको तोडफोडपछि दलहरुबीच संवाद टुटेको बेला आफूले नै एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल निवास पुगेर संवादहीनताको अवस्थालाई तोडेको उल्लेख गर्दै उनले विपक्षी दलहरुलाई वार्ताका लागि निरन्तर आब्हन गरिरहेको बताएका थिए ।
संवैधानिक परिषदको बैठकमा भागबण्डा मिलेन
१२ फागुनमा बसेको संवैधानिक परिषद्को बैठकले संवैधानिक निकायका रिक्त पदमा नियुक्तिको सिफारिस गर्न सकेन ।
लोकसेवा आयोगमा अध्यक्षसहित सदस्य एवम् अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सदस्य पद रिक्त छन् ।
एमाओवादीले लोकसेवा आयोगको अध्यक्षमा नेता बाबुराम भट्टराईकी जेठी सासु कयोदेवी यमीलाई पुनः नियुक्त गर्नुपर्ने अडान राखेकोले कुरा नमिलेको हो ।
बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिंदै दाहालले लोकसेवा आयोगमा पूर्व पदाधिकारीलाई नै निरन्तरता दिनुपर्छ भन्ने आफ्नो भनार्इ राखेको बताए । यसअघि यमी आयोगकी अध्यक्ष थिइन् ।
“मैले लोक सेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र निर्वाचन आयोगमा रिक्त रहेका पदहरुमा प्याकेजमा नियुक्ति गर्नुपर्छ भन्ने प्रस्ताव राखेँ,” परिषद्का सदस्य समेत रहेका दाहालले भने ।
बैठकपछि सभामुख सुवास नेम्वाङले संवैधानिक निकायमा रिक्त पदहरुमा नियुक्तिका लागि सिफारिस गर्ने विषयमा बैठकमा गम्भीर छलफल भएको तर सर्वसम्मत नभएका कारण नियुक्ति हुन नसकेको सञ्चारकर्मीलाई जानकारी दिए।
प्रधानमन्त्रीले अध्यक्षता गर्ने परिषद्का सदस्यहरुमा प्रधानन्यायाधीश, सभामुख, व्यवस्थापिका–संसद्मा प्रमुख प्रतिपक्षी दलका नेता र प्रधानमन्त्रीले तोकेका तीनजना मन्त्री रहने व्यवस्था छ ।
परिषद्को अर्को बैठक १४ फागुन अपराह्न ५ बजे बस्नेछ ।
