समाचारबिहीबार, कार्तिक ९, २०६९
टीका मान्नेहरुले गर्दा वातावरण रमाइलो
दशैंका दिनमात्रै सबै मान्यजनसंग टीका लगाउन नभ्यइने हुँदा कोजाग्रत पूर्णिमासम्म लगाउने प्रचलन छ ।
दशैंको सप्तमीपछि सुनसान भएको राजधानीमा पनि सर्वसाधारणको चहलपहल बढेको छ । सवारीसाधन पनि अन्य दिनको तुलनामा बढी चलेका छन् ।
लामो समयसम्म भेटघाट नभएका आफन्तसँग भेटघाटको ठूलो अवसर दशैं नै हो । यस पर्वले आपसी सद्भाव, विश्वास र भाइचारा बढाउने गरेको छ । यस वर्ष इद र शनिबारको बिदा पनि परेकाले पूर्णिमासम्म नैे राजधानीबाट टीका लगाउन बाहिरिएकाहरूले फर्कन हतार गर्नुपर्ने अवस्था छैन ।
सार्वजनिक यातायात कम चलेकोले धेरैजसो यात्रु हिँडेर नै आफ्नो गन्तव्यतर्फ गइरहेका देखिन्छन्, ट्याक्सीले मनपरी भाडा असुल्ने गरेको गुनासो यात्रुको छ । राजधानी अहिले प्रदूषणमुक्त रहेको, धुवाँ र धुलोबाट सास्ती भोग्नु नपरेकाले पनि हिँड्न रमाइलो भएको बटुवाको भनाइ छ ।
