समाचारशनिबार, फाल्गुण १६, २०७१
जिल्ला प्रशासनदेखि सिंहदरवारसम्म कब्जा गर्ने दाहालको चेतावनी

एमाओवादी मोर्चाले १६ फागुनमा आयोजना गरेको आमसभामा नेताहरु । तस्वीर: देवकी बिष्ट
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले जिल्ला सदरमुकामदेखि सिंहदरवारसम्म कब्जा गर्ने चेतावनी दिएका छन् ।
मोर्चाले काठमाडौंको खुल्लामञ्चमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै दाहालले जिल्ला सदरमुकाम कब्जा गर्ने चेतावनी दिए । उनले भने, ‘‘काठमाडौंको प्रदर्शन अन्तिम हो, काठमाडौंमा अव शक्ति प्रदर्शन हुँदैन । जिल्ला–जिल्ला कब्जा गरिन्छ ।’’
उनले प्रश्नावली समिति खारेज गरेर संवैधानिक राजनीतिक सम्वाद समितिलाई नब्युँताएसम्म वार्तामा नबस्ने बताए । दाहालले भने, ‘‘बरु मर्न तयार छु, तर अव झुक्दिन ।’’ दाहालले जनताले अव सिंहदरवार कब्जा गर्ने बताए ।
उनले देशलाई बबार्द बनाउनेहरुलाई बर्खास्त गरेर देश कब्जा गर्ने धम्की दिए ।
एमाले चाहिदैन
दाहालले एमालेले आफ्ना अजेण्डा छोडेकाले अब कांग्रेससँग गाभिए हुने भन्दै थपे, ‘‘अजेण्डा नहुने एमालेको काम छैन, कांग्रेसमा गाभिए हुन्छ ।’’
उनले शासकीय स्वरुप र संघीयतामा एमालेले कांग्रेसको समर्थन गरेकाले एमाले नचाहिने बताए । दाहालले भने, ‘‘अजेण्डा नभएपछि छुट्टै पार्टी हुनुको अर्थ छैन, भ्रष्टाचार गर्न कांग्रेसमा पाइहालिन्छ ।’’
