समाचारशनिबार, फाल्गुण १६, २०७१
वार्ताद्वारा नै समस्याको समाधान: प्रधानमन्त्री कोइराला
प्रधानमन्त्री सुशील कोइरालाले वार्ताद्वारा नै संविधान निर्माणलगायत मुलुकका राजनीतिक समस्याको समाधान हुने बताएका छन् ।
नेपालगन्जको अन्तराल समूहद्वारा १६ फागुनमा आयोजित बिपीको ऐतिहासिक फोटो प्रदर्शनी यात्राको प्रधानमन्त्री निवास बालुवाटारमा शुभारम्भ गर्दै कोइरालाले भने, “वार्तामा बसौँ, छलफल गरौँ, छलफलद्वारा नै समस्याको निदान र समाधान निस्कन्छ ।”
प्रधानमन्त्री कोइरालाले राजनीतिक दलहरुका बीचमा वार्ता भइरहेको भन्दै थपे, “हामी संविधान निर्माणसँगै मुलुकमा शान्ति, स्थायित्व, लोकतन्त्रको संस्थागत विकास र आर्थिक विकासमा लागेका छौँ ।”
उनले भारतीय स्वतन्त्रता सङ्ग्राममा भाग लिएर भारतमा समेत जेलनेल भोगेका बिपी कोइरालाले नेपालमा प्रजातन्त्रको स्थापना र विकासको नेतृत्व गर्दा जेलनेल र प्रवासको सजाय भोग्नुपरेको घटना पनि स्मरण गरेका थिए ।
सो अवसरमा प्रधानमन्त्री कोइरालाले देशव्यापी घुम्ती फोटो प्रदर्शनीका प्रतिनिधिमूलक फोटो नेपाल प्रेस युनियन बाँकेका जयनारायण साहलाई हस्तान्तरण गरेका थिए ।
