समाचारसोमबार, फाल्गुण १८, २०७१
कांग्रेससँग गम्भीर छलफल गर्ने एमाले निर्णय
नेकपा एमालेले संविधान निर्माणका विषयमा सत्तारुढ दल नेपाली कांग्रेससँग गम्भीर छलफल गर्ने निर्णय गरेको छ ।
१८ फागुनमा बसेको स्थायी कमिटी बैठकले लामो समयदेखि संविधानसभा बैठक बस्न नसकेको र एमाओवादी मोर्चासँग सहमति पनि नभएकाले गम्भीर छलफल गर्ने निर्णय गरेको एमालेका सचिव प्रदिप ज्ञवालीले बताए ।
उनले भने, ‘‘एमाओवादी मोर्चासँग सहमति हुने संभावना कम देखिन्छ । २० दिनदेखि संविधानसभा स्थगित छ । यस्तो अवस्थामा गम्भीर छलफल गर्छाै ।’’
ज्ञवालीका अनुसार संविधान बनाउन नसकिने अवस्थामा सरकारमा बसिरहनुको अर्थ नरहेको निर्णय भएको छ । ज्ञवालीले भने, ‘‘संविधान निर्माणका लागि सरकार बनेको हो, संविधान बन्दैन भने सरकारमा बसिरहनुको औचित्य छैन ।’’
एमालेले जेठभित्र संविधान निर्माण हुनेगरी संविधानसभाको प्रक्रिया अघि बढाउनुपर्ने धारणा बनाएको छ ।
१६ फागुनमा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले एमाले देशमा आवश्यक नभएको अभिव्यक्ति दिएपछि बसेको एमाले स्थायी कमिटी बैठकले मोर्चासँग सहमतिको संभावना न्यून रहेको निर्णय गरेको छ ।
