समाचारमंगलबार, फाल्गुण १९, २०७१
दुई सभासद रहेको दलका दुबैले नयाँ दल खाेले
जम्मा दुई जना सभासद रहेको राष्ट्रिय जनमुक्ति पार्टीका दुबै सभासद् पार्टीबाट अलग्गिएर नयाँ पार्टी गठन गरेका छन् ।
सभासद शिवलाल थापा र सीमाकुमारी विकले राष्ट्रिय जनमुक्ति पार्टी परित्याग गरी राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक गठन गरेका हुन् ।
“दुबै सभासदले नयाँ दल गठन गरेको जानकारी गराउनु भएको छ,” सभामुख सुवासचन्द्र नेम्वाङले हिमालखबरसँग भने, “निर्वाचन आयोगबाट नयाँ पार्टीको मान्यता लिएर आएपछि संविधानसभामा पनि उहाँहरुलाई नयाँ दलको मान्यता दिइनेछ ।”
राष्ट्रिय जनमुक्ति पार्टी एमाओवादी नेतृत्वको ३० दलीय मोर्चामा समेत सहभागी छ । दुवै जना सभासद् समानुपातिकतर्फबाट निर्वाचित हुन् ।
सभासदद्वय थापा र विकले पार्टी लोकतान्त्रिक मूल्य मान्यता विपरीत, संकीर्ण र निरंकुश ढंगबाट सञ्चालन भएकाले नयाँ पार्टी गठन गरेको बताए ।
एमएस थापा अध्यक्ष रहेको उक्त पार्टीबाट अघिल्लो संबिधानसभामा पनि समानुपातिक तर्फबाट दुई सभासद थिए ।
