समाचारमंगलबार, फाल्गुण १९, २०७१
एमाले: वैकल्पिक केन्द्रीय सदस्य मनोनित, नेपाल पक्षको असहमति
महाधिवेशन सकिएको आठ महीनापछि नेकपा एमालेले केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ ।
२० फागुनमा बसेको स्थायी कमिटी बैठकले ८ जना वैकल्पिक केन्द्रीय सदस्य मनोनयन गरेपछि केन्द्रीय कमिटीले पूर्णता पाएको हो । एमालेले खगेन्द्र चुँडाल, देवशंकर पौडेल, मानबहादुर जिसी, रुपनारायण श्रेष्ठ र झपट रावललाई मनोनयन गरेको छ ।
यस्तै, एकीकरण प्रक्रियाबाट आएका प्रल्हाद गिरी, देउमान सम्बाहाम्फे र भाष्कर काफ्लेलाई पनि मनोनयन गरेको छ ।
बरिष्ठ नेता माधवकुमार नेपाल बैठकबाट बाहिरिएपछि गरिएको यो निर्णयमा नेपाल समूहले असन्तुष्टि जनाएको छ । नेपालपछि क्रमैसँग अन्य पदाधिकारी बाहिरिएपछि गरिएको यो निर्णयमा उपमहासचिव घनश्याम भूसालले असहमति जनाएका थिए ।
भूसालले भने, ‘‘एक्लौटी निर्णय भएपछि मैले असहमति लेखेको छुँ, अरु नेताहरुले पनि लेख्नुहोला ।’’ उनले यसअघि भएको मनोनयनमा पनि असहमति रहेको बताए ।
स्थायी कमिटी र पोलिट्ब्यूरो भागबन्डामा गठन भए पनि केन्द्रीय सदस्य मनोनयनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एक्लौटी गरेको भूसालले आरोप लगाए । एमालेमा अझै जिम्मेवारी बाँडफाँड हुन नसकेपछि पूरानै जिम्मेवारी अनुसार गतिविधि भइरहेको छ ।
