समाचारबुधबार, फाल्गुण २०, २०७१
विवादित विषयमा छिट्टै सहमति बन्छ: मन्त्री निधि
भौतिक पूर्वाधार तथा यातायातमन्त्री बिमलेन्द्र निधिले संविधानका विवादित विषयमा दलहरुबीच छिट्टै सहमति हुने दाबी गरेका छन् ।
नेपाल प्रेस युनियनले बागलुङमा आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री निधिले सहमतिको वातावरण बन्दै गएको बताए । उनले प्रदेशको नाम, सीमा र सङ्ख्याका विषयमा विवाद अल्झेको भन्दै त्यो विषय सहमतिबाटै टुङ्गिने विश्वास व्यक्त गरे ।
“शासकीय स्वरुप, न्यायप्रणाली र निर्वाचन प्रणालीमा अनौपचारिक सहमति भइसकेको छ, सङ्घीय संरचनामा मात्रै विवाद कायम छ, त्यो पनि मिल्छ”, मन्त्री निधिले भने ।
पूर्वका झापा, सुनसरी, मोरङ र पश्चिमका कैलाली र कञ्चनपुर जिल्लालाई कहाँ राख्ने विषयमा दलहरुबीच मतभेद रहेको भन्दै उनले थपे, “दलहरुबीच वार्ता र छलफल शुरु भएको छ, अनुकुल वातावरण सिर्जना भएको छ, सहमति हुन्छ ।”
मुलुकमा सहमति कि प्रक्रिया भनेर अनावश्यक बहस सिर्जना गरिएको उनको टिप्पणी थियो । सहमति र प्रक्रिया दुवै पुरक विषय भएकाले प्रक्रिया र सहमति जुनमा जाँदा पनि दलबीच सहमति बन्नुपर्ने मन्त्री निधिको धारणा थियो ।
