समाचारबिहीबार, फाल्गुण २१, २०७१
मन्त्रिपरिषद बैठकः सचिवहरुको सरुवा र पदस्थापन लगायत विभिन्न निर्णय
सरकारले केही विशिष्ट श्रेणीका अधिकृत र सचिवको सरुवा तथा भर्खरै विशिष्ट श्रेणीमा पदोन्नति भएका सचिवहरुको पदस्थापना गर्ने निर्णय गरेको छ ।
यसरी पदस्थापना गरिएका सचिवमा नारायणगोपाल मलेगु र प्रेमकुमार राईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उत्तमकुमार भट्टराईलाई कृषि विकास मन्त्रालय, जयमुकुन्द खनाललाई उद्योग मन्त्रालय र खुमराज पुञ्जालीलाई शान्ति तथा पुनःनिर्माण मन्त्रालयमा पदस्थापना गरिएको सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता डा मीनेन्द्र रिजालले जानकारी दिए ।
मन्त्रिपरिषद्को २० फागुनको बैठकले सूचना तथा सञ्चारमन्त्रालयको सचिवमा सुनिलबहादुर मल्ल, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवमा ङइन्द्रप्रसाद उपाध्याय, सार्वजनिक खरिद अनुगमन कार्यालयको सचिवमा टङ्कमणि शर्मा, रक्षा मन्त्रालयको सचिवमा ईश्वरीप्रसाद पौड्याल, नेपाल ट्रष्टको कार्यालयको सचिवमा नरबहादुर रजावर र रमेशकुमार शर्मालाई राष्ट्रिय सर्तकता केन्द्रको सचिवमा पदस्थापना गर्ने निर्णय गरेको छ ।
यस्तै, जल तथा ऊर्जा आयोगको सचिवमा गजेन्द्रकुमार ठाकुर, राष्ट्रिय सूचना आयोगको सचिवमा लक्ष्मणप्रसाद मैनाली, सामान्य प्रशासन मन्त्रालयको सचिवमा राजन खनाल, अर्थमन्त्रालयको सचिवमा नवराज भण्डारी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिवमा श्रीधर सापकोटालाई पदस्थापना गरिएको छ ।
यस्तैगरी क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतको प्रशासकमा विजयकुमार मल्लिक, क्षेत्रीय प्रशासन कार्यालय धनकुटाको प्रशासकमा सुरेशप्रकाश आचार्य, क्षेत्रीय प्रशासन कार्यालय सुदूरपश्चिमाञ्चलको प्रशासकमा शरदराज विष्ट, क्षेत्रीय प्रशासन कार्यालय मध्यमाञ्चलको प्रशासकमा रामकुमार आचार्य र क्षेत्रीय प्रशासन कार्यालय पोखराको प्रशासकमा दिनेशकुमार थपलियालाई पदस्थापना गरिएको सञ्चारमन्त्री रिजालले जानकारी दिए ।
मन्त्रिपरिषद्को बैठकले असाधारण क्षमता भएका चार वर्षीय बालक आदित्य दाहाललाई उपयुक्त स्थानमा औषधि उपचार गराउन बढीमा रु २५ लाख र सँगै जाने दुई जनाका लागि आउन जाने टिकटको खर्चसमेत सरकारले उपलब्ध गराउने निर्णय समेत गरेको छ ।
यसैगरी बैठकले फष्ट नेपलिज वुमेन केटु एक्सपिडिसन–२०१४का नेपाली महिला पाकिस्तानको सर्वोच्च शिखर माउण्ड केटु आरोहणका लागि रु पाँच लाख आर्थिक सहयोग दिने निर्णय गरेको छ ।
तेस्रो महिला साफ च्याम्पिएनसिपमा दोस्रोस्थान प्राप्त गर्ने नेपाली राष्ट्रिय महिला फूलबल टोलीका प्रत्येक खेलाडीलाई रु २५ हजारका दरले २० जना खेलाडी, मुख्य प्रशिक्षकलाई रु १५ हजार र प्रशिक्षकलाई रु १० हजार नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय भएको पनि मन्त्री डा रिजालले बताए ।
