समाचारबिहीबार, फाल्गुण २१, २०७१
होलीमा १०६ जना नियन्त्रणमा, ५०० चालकलाई कार्वाही

तस्वीर: देवकी बिष्ट
होलीका बेला राजधानीका विभिन्न स्थानबाट साँझ ५ः०० बजेसम्म १०६ जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
होली मनाउने नाममा मादकपदार्थ सेवन गरी चलाइएका ५०० मोटरसाइकल तथा नौवटा कारलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता नारायणसिंह खड्काले जानकारी दिए ।
यद्यपी विगतका वर्षमा भन्दा यस वर्षको होली भव्य र सभ्य बनेको देखियो ।
पहिले भन्दा सभ्य र भव्य
होली शुरु हुनुभन्दा पाँच/सातदिन अगावै उपत्यकामा सामान्य हिँडडुलका लागि पनि समस्या भोग्नेगरेका सर्वसाधारण यस वर्ष भने त्यो क्रम निकै कम भएको बताउँछन् ।
विशेष गरी महिलावर्गलाई हिँडडुल गर्न असहज हुने गरेकोमा यस वर्ष भने होलीकै दिन पनि जवर्जस्ती लोला हान्ने, पानी छ्याप्नेजस्ता घटना निकै कम भए ।
यस वर्ष सार्वजनिक सवारीसाधन विगतका वर्षमाभन्दा बढी नै चलेका कारण आवतजावत गर्नेले पनि ठूलै राहत महसुस गरेका थिए ।
राजधानीका विभिन्न स्थानमा सामुहिक होली पनि उत्साहजनकरुपले मनाइएको देखिन्थ्यो ।

नयाँ बानेश्वरमा सामूहिक होली मनाइँदै । तस्वीर: देवकी बिष्ट
‘वसन्तपुरका रङ्गहरु’ नाम दिइएको वसन्तपुरको होलीको विशेष समारोहमा विदेशी पर्यटक पनि नेपाली होलीको स्वाद लिँदै उत्साहपूर्णरुपमा रङ्ग दलेर रमाए ।
रङ्ग विरङ्ग दलेर सामूहिक तवरले विभिन्नरुपमा तस्वीर खिचाउने क्रम पनि हेर्न लायक थियो ।
टुँडिखेलमा आयोजित होलीको विशेष समारोहमा युवा/युवती दिनभर नै साङ्गीतिक माहौलमा रमेका देखिन्थे भने राजधानीका सडकमा नेपालको राष्ट्रिय झण्डा लिएर‘‘ह्याप्पी होली’ भन्दै हिँडेका दृश्य पनि निकै रोचक देखिन्थे ।
टुँडिखेलमा मारवाडी सेवा समितिले होलीका दहन कार्यक्रम पनि आयोजना गरेको थियो ।
