समाचारशुक्रबार, फाल्गुण २२, २०७१
नेताहरूद्वारा वार्ता सार्थक हुने विश्वास
राजनीतिक दलका नेताहरुले दलहरुको औपचारिक वार्ताले संविधानका विवादित विषयमा सहमति जुटाउने विश्वास व्यक्त गरेका छन् ।
रिपोटर्स क्लबले गरेकाे कार्यक्रममा मुख्य शीर्ष नेताले लचकता अपनाउँदै वार्ताको पहल गरेको अवस्थामा अबको साता÷दश दिनभित्रमा विवादित विषयमा सहमति हुने सङ्केत देखिएको धारणा राखे ।
प्रधानमन्त्री सुशील कोइराला र एमाअाेवादीका अध्यक्ष पुष्पकमल दाहालबीचको वार्ताले सहमतिको आधार तय गरेको उनीहरुले बताए । नेपाली कांग्रेसका नेता आनन्दप्रसाद ढुङ्गानाले ५ माघमा दलहरुबीच भएको सहमतिबाट नै वार्ता सुरू हुने र त्यही बीचमा आएको मध्यमार्गी प्रस्तावबाट टुङ्गो लगाइने बताए ।
एमाओवादीका नेता अग्निप्रसाद सापकोटाले सबैका अधिकार सुनिश्चित गरी समयमै संविधान जारी गर्ने उद्देश्यका निम्ति आफ्नो पार्टी सार्थक वार्ता गर्न तयार रहेको स्पष्ट पारे । उनले प्रधानमन्त्रीले वार्ताको लागि गरेको सकारात्मक पहल स्वागत योग्य भएको टिप्पणी गरे ।
नेकपा एमालेका केन्द्रीय सदस्य डा राजन भट्टराईले तत्काल टुङ्गो लगाउन नसक्ने संविधानका विवादित विषयलाई थाँती राखेर भएपनि जेठ १५ गतेभित्रै संविधान जारी गर्नुको विकल्प नभएको जिकिर गरे ।
मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका उपाध्यक्ष रामेश्वरराय यादवले शनिबार हुने दलहरुको बैठक परिणाममुखी हुने आशा व्यक्त गरे ।
