समाचारआइतबार, फाल्गुण २४, २०७१
दुर्घटनाग्रस्त विमान पार्किङस्थल लैजाने तयारी
चार दिनको अनवरत प्रयासपछि धावनमार्गबाट पन्छाइएको दुर्घटनाग्रस्त टर्किस एयरलाइन्सको विमानलाई पार्किङस्थल लैजाने तयारी भइरहेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग नजिक धस्सिएको जहाजलाई तानेर २३ फागुन साँझ करिब ७ बजे पार्किङस्थल नजिक आन्तरिक विमानस्थल अगाडि पुर्याइएको थियो । १५० स्वदेशी तथा विदेशी प्राविधिक र ५०० भन्दा बढी विभिन्न सुरक्षा निकायका जनशक्ति तथा विभिन्न उपकरणको सहयोगमा दुर्घटनाग्रस्त जहाजलाई तानिएको हो ।
विमान पन्छाएर धावनमार्ग खुलेपछि २३ फागुन राति ९ बजेदेखि अन्तर्राष्ट्रिय उडान नियमित भइरहेको विमानस्थलले जनाएको छ ।
विमानस्थलका प्रबन्धक पूर्णप्रसाद चुडालका अनुसार टर्किस एयरलाइन्सको विमानलाई विमानस्थलको पूर्वपट्टिको हेलिप्याडतर्फ पु¥याउनका लागि प्राविधिकले तयारी गरिरहेका छन् । त्यसका लागि अहिले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रतीशचन्द्रलाल सुमनसहितका पदाधिकारी र प्राविधिकबीच बैठक बसिरहेको छ ।
टर्किस एयरलाइन्सको जहाजलाई पार्किङस्थलमा पुर्याएर मात्र त्यसको प्राविधिक परीक्षण तथा मर्मतको काम सुरु हुने प्रबन्धक चुडालले बताए।
