समाचारआइतबार, फाल्गुण २४, २०७१

गच्छदारले दाहाललाई भने, ‘आवेगमा नआउनुहोस्, मर्ने कुरा गरेर मात्रै हुँदैन’

हिमालखबर

morcha

तस्वीरः रिपाेटर्स क्लब

१६ फागुनमा ‘शक्ति प्रदर्शन’ गरे लगत्तै वार्तामा बसेको एमाओवादी नेतृत्वको मोर्चाले सत्ता पक्ष वार्ताका लागि गम्भीर नभएको निष्कर्ष निकालेको छ ।

२४ फागुन विहान सिंहदरवारस्थित एमाओवादी संसदीय दलको कार्यालयमा बसेको मोर्चाको बैठकले २३ फागुनमा भएको वार्तामा कांग्रेस र एमाले गम्भीर नबनेको निष्कर्ष निकालेको हो ।

वार्ताको समीक्षा गर्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले भने, ‘‘केपी ओली विरामी हुने, माधव नेपाललाई खबर नहुने अनि कांग्रेस नेताहरु पश्चिमतिर लाग्नुले हामी मात्रै गम्भीर बनेको देखियो ।’’

उनीलगत्तै बोलेका मोर्चाका नेताहरुले दाहाललाई आवेशमा नआउन आग्रह गरेका थिए । त्यसपछि बोलेका मधेशी जनाधिकार फोरमका अध्यक्ष विजय गच्छदारले आवेगमा आएर वार्ताबाट भाग्न नहुने बताए ।

मोर्चाका एक नेताका अनुसार गच्छदारले दाहाललाई गम्भीर बनेर अभिव्यक्ति दिन र निर्णय लिन आग्रह गरेका थिए ।

१६ फागुनमा खुल्लामञ्चमा दाहालले दिएको ‘मर्न तयार छु तर कांग्रेस एमालेसँग झुक्दिन’ भन्ने अभिव्यक्तिलाई लिएर गच्छदारले भने, ‘‘मर्ने कुरा गरेर मात्रै हुँदैन, तपाई आफ्नो दलको संसदीय नेताले जसरी अभिव्यक्ति नदिनुहोस्, मोर्चाको संयोजक पनि हो भन्ने बुझेर गम्भीर हुनुहोस् ।’’

मोर्चाले २६ फागुनसम्म गम्भीर बनेर वार्तामा बस्ने निर्णय गरेको छ ।

संसदीय समितिमा फर्कने

मोर्चाले ११ माघदेखि बहिष्कार गर्दै आएको संसदीय समितिको काममा सहभागी हुने निर्णय गरेको छ ।

संविधानसभाको दुई तिहाई मतबाट प्रश्नावली समिति बनेपछि मोर्चामा आवद्ध १९ दलले संसदीय समिति बहिष्कार गर्दै आएको थियो ।

दीनानाथ साझा उमेद्वार

मोर्चाले बाग्लुङ क्षेत्र नम्बर १ को उपनिर्वाचनमा एमाओवादीका नेता दीनानाथ शर्मालाई ३० दलको साझा उमेद्वार बनाउने निर्णय गरेको छ । एमाओवादीले तय गरेको उमेद्वारलाई अन्य दलले सघाउने निर्णय भएको मोर्चाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>