समाचारमंगलबार, फाल्गुण २६, २०७१
प्रधानमन्त्री भेट्न गच्छदार बालुवाटार पुगे
प्रधानमन्त्री सुशील कोइरालासँग आज बिहान मधेसी जनाधिकार फोरम, नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गरेका छन् ।
कुनै सहयोगी नराखी दुई नेताबीच भएको वार्ता करिब एक घन्टा चलेको थियो । वार्ता दलहरुबीचको संवाद, संविधान निर्माण, संविधानसभाको बैठकलगायत मुलुकका समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेको बताइएको छ ।
प्रधानमन्त्रीसँगको भेटवार्ता सम्पन्न भएपछि फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष गच्छदारले वार्ता निकै सकारात्मक भएको र वार्ताबाटै सहमति कायम गर्ने प्रधानमन्त्री कोइरालाको प्रयास सार्थक हुने बताए ।
प्रधानमन्त्री कोइरालाले सोमबार एमाअाेवादीका अध्यक्ष दाहालको नेतृत्वमा रहेको मोर्चामा आबद्ध सबै राजनीतिक दल र सम्बद्ध नेतालाई वार्ताबाटै सहमति बनाउन सकिन्छ भन्ने कुरामा भरोसा गर्न आग्रह गर्दै अहिले बनिरहेको संवाद, सहमति र वार्ताको वातावरणमा योगदान पुर्याउन आह्वानसमेत गरे ।
