समाचारबुधबार, फाल्गुण २७, २०७१
सर्वाेच्चकाे फैसलाले मुलुकलाई द्वन्द्वतिर लैजान्छः दाहाल
एमाअाेवादीका अध्यक्ष पुष्पकमल दाहालले सर्वाेच्च अदालतकाे फैसलाले मुलुकलाई पुनः द्वन्द्वमा लैजाने बताएका छन् ।
सत्यनिरुपण तथा मेलमिलाप आयोगका पदाधिकारीसँगकाे भेटमा दाहालले द्वन्द्वकालीन मुद्दालाई आयोगले नै हेर्नुपर्ने बताए । उनले भने, “सर्वोच्च अदालतको पछिल्लो फैसलाले मुलुकलाई पुनः द्वन्द्वमा लैजाने अवस्था देखिएको छ, तत्काल आयोगले यसमा पहल गर्नपर्छ ।”
उनले सर्वोच्चको पछिल्लो फैसलाका केही बुँदा मान्न सकिने भए पनि सबै स्वीकार गर्न नसकिने बताए । तत्कालीन सरकार र विद्रोही नेकपा (माओवादी)बीच भएको विस्तृत शान्ति सम्झौतामा द्वन्द्वकालीन सबै विषयलाई सत्यनिरुपण तथा मेलमिलाप आयोगले नै हेर्ने व्यवस्था भएपनि पछिल्लो दिनमा सर्वोच्चको फैसलाले उल्टाइदिएको भन्दै अध्यक्ष दाहालले आयोग पदाधिकारीसँग असन्तुष्टि व्यक्त गरे ।
सर्वोच्च अदालतले १४ फागुनमा द्वन्द्वकालीन घटनाका सम्बन्धमा अदालतमा विचाराधीन मुद्दा आयोगले हेर्न नपाउने र आम माफी दिन नहुने फैसला गरेकाे थियाे । आयोग पदाधिकारीले सत्यनिरुपण आयोगसम्बन्धी ऐन २०७१ ले गरेको व्यवस्था र दलहरुको सहमतिका आधारमा नै आफूहरु अगाडि बढ्न चाहेको बताएका थिए ।
आयोग पदाधिकारीले ऐन संशोधन गर्ने सम्बन्धमा आफूहरुले केही गर्न नसक्ने जानकारी दिँदै दलहरुबीच नै छलफल गर्नसमेत अध्यक्ष दाहाललाई ध्यानाकर्षण गराएको अध्यक्ष दाहालका सहयोगी शिव खकुरेलले बताए । सर्वोच्चले शान्ति सम्झौताको मर्म र भावना विपरीत फैसला आएको भन्दै मङ्गलबार मात्रै एमाओवादी र नेकपा–माओवादीले संयुक्त विज्ञप्तिमार्फत आपत्ति जनाएका थिए ।

