समाचारशुक्रबार, फाल्गुण २९, २०७१
कर्णेल लामालाई स्वदेश फर्काउन पहल गरः संसदीय समिति
बेलायतमा युद्ध अपराधको मुद्दा खेपिरहेका नेपाली सेनाका महासेनानी (कर्णेल) कुमार लामालाई स्वदेश फर्काउनका लागि कुटनीतिक पहल गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।
नेपालमा सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिनसम्बन्धी आयोग गठन भइसकेकाले लामालाई स्वदेश फर्काई सत्य निरुपण तथा मेलमिलाप आयोग अन्तर्गत छानविन गर्न संसदको सामाजिक न्याय तथा मानव अधिकार समितिले सरकारलाई निर्देशन दिएको हो ।
समितिको २९ फागुनको बैठकले कर्णेल लामाको बेलायतमा मुद्दा सम्बन्धी विषय मुलुकको सार्वभौमिकता, राष्ट्रियता र प्रतिष्ठासँग जोडिएको भन्दै कूटनीतिक माध्यमबाट यथाशीघ्र छिटो निरुपण गर्नका आवश्यक कदम चाल्न रक्षा र परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ।
दक्षिण सुडानमा शान्ति स्थापनाका लागि खटिएका लामा परिवारसँग भेटघाट गर्न लन्डन पुगेका बखत १९ पुस २०६९ मा पक्राउ परेका थिए ।
समितिले लामामाथि लागेको अभियोग र मुद्दालाई कसरी हेरेको छ, छुटाउने सन्दर्भमा केकस्ता प्रयास र प्रयत्न भइरहेको छ भन्नेबारेमा बैठकमा जानकारी दिन प्रधानमन्त्री र प्रधानसेनापतिलाई आमन्त्रण गरेको कार्यव्यस्तताका कारण दुबै उपस्थित हुन नसकेको जानकारी गराइएको थियो ।
बैठकमा सदस्यले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीका तर्फबाट कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला र शान्ति तथा पुनःनिर्माणमन्त्री नरहरि आचार्यले लामालाई स्वदेश ल्याउन र चलाइएको मुद्दा फिर्ता लिन हालसम्म गरिएको प्रयासबारे जानकारी दिँदै द्वन्द्वका समयमा भएका घटनाको छानबिन र सत्य निरुपण गर्न आयोग गठन भइसकेकाले समितिले दिएको निर्देशनअनुरुप लामालाई स्वदेश फर्काउन पहल गरिने प्रतिबद्धता जनाए ।
