समाचारशुक्रबार, फाल्गुण २९, २०७१
मधेशी मोर्चाले कांग्रेसलाई पुरानो सम्झौता सम्झायो
प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेस र मधेशी मोर्चाबीच भएको अनौपचारिक वार्तामा राज्य पुनःसंरचनाबारे छलफल भएको छ ।
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोका अनुसार छलफलमा कुनै ठोस निर्णय हुन नसकेपनि छलफललाई निरन्तरता दिने सहमति भएको छ । महतोले भने, ‘‘छलफल सकारात्मक भयो, प्रधानमन्त्रीले सहमतिबाटै संविधान जारी गर्नेगरी छलफल अघि बढाउने बताएका छन् ।’’
छलफलमा मोर्चाले चुरेसम्मको भूभागलाई छुट्याउन नहुने प्रस्ताव गरेको थियो । महतोले भने, ‘‘पूर्वदेखि पश्चिमसम्मको तराईलाई दुई प्रदेश बनाउनुपर्ने प्रस्ताव गरेका थियौं ।’’
मोर्चाले कांग्रेसलाई तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गरेको सम्झौताको संस्मरण गराएका थिए । महतोले भने, ‘‘हामीसँग गिरिजाबाबुले थारुहट र मधेश प्रदेश दिने सहमति गरेका थिए । प्रधानमन्त्री सुशील कोइरालालाई आज पनि सम्झाऔं ।’’
