समाचारशनिबार, फाल्गुण ३०, २०७१
नेपाल प्रहरी ग्यास उद्योग सञ्चालनको तयारीमा
काठमाडौँ उपत्यकावासीलाई खाना पकाउने एलपी ग्यास सहज रुपमा उपलब्ध गराउन नेपाल प्रहरीले निकट भविष्यमै ग्यास उद्योग सञ्चालनमा ल्याउने भएको छ ।
प्रहरी कल्याण कोषद्वारा सञ्चालनमा ल्याइने उक्त प्लान्ट स्थापनाका लागि प्रहरीले नेपाल आयल निगममा प्रस्ताव पठाइसकेको छ ।
प्रस्तावमा मासिक रुपमा एक हजार ५०० मेट्रिक टन ग्यास भर्ने गरी उद्योग सञ्चालनका लागि अनुमति मागिएको छ । त्यसका लागि प्रहरीले एक लाख सिलिन्डरको व्यवस्था मिलाउने तयारीमा रहेको प्रहरी कल्याण कोषका वरिष्ठ उपरीक्षक लव विष्टले जानकारी दिए ।
एक लाखमध्ये ५० हजार सिलिन्डर बजारमा जाने र ५० हजार सिलिन्डर डिपोमा मौज्दात रहने गरी व्यवस्था मिलाइने कोषले योजना बनाएको छ । सो उद्योग स्थापनाका लागि धादिङ र काभ्रे जिल्लामा सम्भाव्यता अध्ययन गरिएको छ ।
उद्योगबाट उपत्यकाका ५० हजार जनतालाई खाना पकाउने ग्यास सहजरुपमा उपलब्ध हुने विश्वास गरिएको छ । त्यसैगरी पाँचवटै विकास क्षेत्रमा थप पेट्रोल पम्पहरु स्थापना गर्ने र इन्धन ढुवानीका लागि दशवटा ट्याङ्कर खरिद गर्ने तयारीसमेत गरेको श्रेष्ठले जानकारी दिए ।
रासस
