समाचारशनिबार, फाल्गुण ३०, २०७१
बलात्कारपछि मृत्यु भएकी बालिकाको अन्त्येष्टि गर्न परिवार सहमत
बलात्कारपछि मृत्यु भएकी बाराकी बालिका पूजा साहको शवको अन्त्येष्टि गर्न परिवार सहमत भएको छ ।
बारा सदरमुकाम कलैयामा स्थानीय प्रशासन र बेटी बचाऊ संघर्ष समिति बीच भएको वार्तामा बालिकाको शव अन्त्येष्टी गर्ने र आन्दोलनको कार्यक्रम फिर्ता लिने सहमति भएको हो ।
जिल्ला प्रशासन कार्यालयमा भएको वार्तामा बारामा पछिल्लो समयमा भइरहेका हत्या र बलात्कारका घटनाहरुको वैज्ञानिक अनुसन्धान गर्ने, हत्या भएका सबै बालबालिकाको परिवारलाई क्षतिपूर्तिका लागि स्थानीय प्रशासनले पहल गर्ने, गत १२ माघमा हत्या भएका बालक आशिष गुप्ताका हत्याराको खोजीलाई तिब्र पार्ने, सदरमुकाम कलैयामा शान्तिसुरक्षालाई मजबुत पार्न विभिन्न स्थानमा सीसीटीभी जडान गर्ने सम्झौता भएपछि आन्दोलनका कार्यक्रमहरु फिर्ता भएको र बालिकाको शवको अन्त्येष्टि गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले बताए ।
८ फागुनमा कलैया बजारबाट हराएकी ६ वर्षीया बालिका पूजा साह ९ फागुन विहान बलात्कृत र बेहोस अवस्थामा फेला परेकी थिइन् । स्थानीय अस्पतालमा उनको उपचार नभएपछि काठमाडौंको कान्ति बाल अस्पतालमा भर्ना गरिएकोमा एक साताअघि उनको मृत्यु भएको थियो ।
बालिकाको मृत्यु पश्चात देशव्यापीरुपमा बलात्कारविरुद्ध कडा कानूनको माग गर्दै प्रदर्शन हुँदै आएको छ ।
श्याम गुप्ता, बारा
