समाचारआइतबार, चैत्र १, २०७१
एमाओवादी प्रवक्ता शर्माद्वारा उम्मेदवारी फिर्ता
एमाओवादीको तर्फबाट बागलुङ क्षेत्र नं १ को उपनिर्वाचनका लागि उम्मेदवार रहेका प्रवक्ता दीनानाथ शर्माले उम्मेदवारी फिर्ता लिएका छन् ।
शर्माद्वारा ३० फागुनमा जारी विज्ञप्तिमा भनिएको छ, “अचानक स्वास्थ्य अवस्था प्रतिकूल भएका कारण निर्वाचनमा जान असमर्थ रहेको जानकारी गराउनुपर्दा मलाई अत्यन्त दुःख लागेको छ । निर्वाचनमा सहभागी हुन नसकेकोमा निर्वाचनका लागि प्रेरित गर्ने मेरो पार्टी, समर्थक, शुभचिन्तक, शुभेच्छुक, आफन्तजन र बागलुङ क्षेत्र नं १ का सम्पूर्ण मतदातासामु म दुःख व्यक्त गर्दछु ।”
आफूले उम्मेदवारी फिर्ता लिए पनि उनले एमाओवादीका तर्फबाट उम्मेदवारलाई मतदान गरी विजयी बनाउन मतदातालाई अनुरोध गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ– “उच्च रक्तचाप र मुटुसम्बन्धी बिरामी शारीरिक थकानयुक्त कार्यमा सहभागी हुन नहुने चिकित्सकको सल्लाह छ ।”
बागलुङ क्षेत्र नं। १ को उपनिर्वाचन २८ चैतमा हुँदैछ ।
