समाचारसोमबार, चैत्र २, २०७१
काठमाडौं तराई द्रुतमार्गको डिपिआर चार महिनामा तयार हुने
काठमाडौँलाई तराईसँग जोड्ने द्रुतमार्गको विस्तृत परियोजना अध्ययन प्रतिवेदन (डीपीआर) भारतको इन्फ्रास्टक्चर लिजिङ एन्ड फाइनान्स सर्भिसेज (आइएल एन्ड एफएस) ले गर्ने भएको छ ।
काठमाडौं तराई द्रुतमार्ग परियोजना प्रमुख सत्येन्द्र शाक्य र आइएल एण्ड एफएसका कार्यकारी निर्देशक मुकुन्द सात्रेले २ चैतमा डीपीआर तयार पार्ने सम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरे ।
सम्झौताअनुसार आगामी चार महिनाभित्र परियोजनाको विस्तृत प्रतिवेदन तयार पार्नु पर्नेछ । लामो समयदेखि चर्चा रहेपनि प्रतिवेदन तयार नहुँदा काठमाडौंलाई बाराको निजगढसम्म जोड्ने द्रुत मार्गको लागतलगायतका विषयमा अन्तिम निर्णय हुन सकेको थिएन ।
भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले प्रतिवेदन तयार पार्न सरकारले कुनै पनि रकम खर्च गर्नुनपर्ने र तोकिएको समयमै पूरा हुने जानकारी दिए ।
सम्झौताअनुसार चार महिनाभित्र परियोजनाको विस्तृत अध्ययन गरी प्रतिवेदन तयार हुने र सरकारले ग्रहण गर्ने सचिव सिटौलाको भनाइ छ ।
सरकारले सो प्रतिवेदन तयार पार्नका लागि विश्वव्यापी बोलपत्रमार्फत आह्वान गरेको थियो ।
सोही आह्वानअनुसार तीन वटा भारतीय कम्पनीले आशयपत्र पेस गरेका थिए । रिलायन्स समूहको आशयपत्र भन्दा आइएलएण्ड एफएसको प्रस्ताव उत्कृष्ट देखिएकाले त्यसलाई स्वीकार गरिएको सचिव सिटौलाको भनाइ छ ।
आजै विहान मात्रै व्यवस्थापिका–संसद् मातहतको विकास समितिको बैठकमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री विमलेन्द्र निधिले विस्तृत प्रतिवेदन तयार पार्नका लागि कुनै पनि लगानी सरकारले गर्नुनपर्ने जानकारी गराएका थिए ।
अर्थमन्त्री डा रामशरण महतले पनि भारतीय कम्पनीले निःशुल्क काम गर्ने इच्छा देखाएका कारण उसैलाई दिनु मनासिव हुने धारणा राखेका थिए ।
विस्तृत प्रतिवेदन तयार भएपछि द्रुतमार्गको लागत, परियोजनाको ढाँचालगायतका विषयमा प्रष्ट हुने मन्त्रालयको भनाइ छ ।
