समाचारबुधबार, चैत्र ४, २०७१
एसएलसी परीक्षामा अनियमितता गर्नेलाई रु.एक लाख जरिवाना, छ महिना कैद
याे वर्षको प्रवेशिका परीक्षा (एसएलसी) भाेलि बिहान ८ बजेदेखि सुरु हुँदैछ ।
परीक्षा नियन्त्रण कार्यालयले परीक्षालाई मर्यादित बनाउन सबै पक्षलाई आग्रह गरेको छ । परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले परीक्षालाई मर्यादित र शान्तिपूर्ण रुपमा सम्पन्न गराउन सबै पक्षलाई आग्रह गरिएको बताए ।
परीक्षाका लागि परीक्षा केन्द्रमा आजै केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहायक निरीक्षक, कर्मचारी र सुरक्षाकर्मी खटिइसकेका छन् ।
परीक्षार्थीमा छात्रा बढी
यस वर्षको परीक्षामा नियमिततर्फ छात्र दुई लाख १२ हजार ५०४ र छात्रा दुई लाख १३ हजार ७१० तथा पुनःपरीक्षातर्फ छात्र ५९ हजार २५३ र छात्रा ८५ हजार ९३० गरी कुल पाँच लाख ७४ हजार ६८५ परीक्षार्थी सहभागी हुँदैछन् ।
परीक्षार्थीमध्ये सबैभन्दा बढी काठमाडौँमा ३४ हजार ५८७ र सबैभन्दा कम मनाङमा ७४ जना छन् । यस वर्ष परीक्षा दिनेमा छात्रभन्दा छात्राको सङ्ख्या बढी छ ।
यस वर्षका परीक्षाका लागि देशभ एक हजार ८६२ परीक्षा केन्द्र कायम गरिएको छ, जसमा सबैभन्दा बढी काठमाडौँमा ९१ र सबैभन्दा कम मनाङ र मुस्ताङमा एक एक छन् ।
परीक्षाका लागि २७ हजार ९३० सुरक्षाकर्मी, एक हजार ८६२ केन्द्राध्यक्ष, दुई हजार ४४० सहायक केन्द्राध्यक्ष, २३ हजार १४ निरीक्षक र सात हजार ६९९ कार्यालय सहायक परिचालन गरिने छ ।
परीक्षा नियन्त्रण कार्यालयले यस वर्षदेखि दृष्टिविहीन परीक्षार्थीका लागि कक्षा ९ मा अध्ययनरत व्यक्तिलाई सहयोगीका रुपमा राख्न पाउने व्यवस्था गरेको छ । गत वर्षसम्म दृष्टिविहीन परीक्षार्थीले कक्षा ८मा अध्ययनरत विद्यार्थीलाई सहयोगी राख्न पाउँथे ।
परीक्षाको मर्यादाविपरीत कार्य गर्ने कर्मचारी, सुरक्षाकर्मी, परीक्षार्थीलाई कसुरको मात्रा हेरेर रु एक लाख जरिवाना वा छ महिना कैद वा दुवै सजाय गर्ने व्यवस्था गरिएको जानकारी परीक्षा नियन्त्रक द्वारेले बताए ।
