समाचारशनिबार, चैत्र ७, २०७१

गाडीमा सिट थपे वा झिके एक लाखसम्म जरिवाना

हिमालखबर

सरकारले तोकिएको सिट क्षमताभन्दा बढी यात्रु राख्ने सार्वजनिक सवारी साधनलाई कडा कारबाही गर्ने भएको छ ।

यात्रु बढी राख्दा दुर्घटना बढेको विश्लेषण गरी सरकारले त्यसलाई नियन्त्रण गर्न जरिवानाको कडा प्रावधान लागू गरेको हो ।

बढी यात्रु बोक्ने प्रयोजनका लागि कुनै सवारी साधनले अनुमति प्राप्त गरेको भन्दा बढी सिट राखेको वा सिट झिकेको पाइएमा एक लाख रूपैयाँसम्म जरिवाना हुनेछ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाको संयोजकत्वमा २५ मंसीरमा गठित उच्चस्तरीय कार्यदलले बुझाएको प्रतिवेदनमा बढी यात्रु बोक्ने गाडीलाई कारबाही गर्नुपर्ने सुझाव दिएको थियो ।
मन्त्रिपरिषद बैठकले उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

थप यात्रु बोक्ने प्रयोजनका लागि कुनै सवारी साधनको सिट झिकेको वा थप गरेको पाइएमा पहिलोपटक भए २५ हजार, दोस्रोपटक भए ५० हजार र तेस्रोपटक भए एक लाख जरिवाना गरिनेछ ।

‘त्यसपछि पनि उक्त कार्य गर्नेको हकमा उक्त सवारी साधनको रूट अनुमतिपत्र ६ महिनाका लागि निलम्वन गर्नुपर्ने’ प्रतिवेदनमा उल्लेख छ ।

तोकिएको क्षमताभन्दा बढी यात्रु बोकेको कसुरमा ३ पटकभन्दा बढी कारवाहीमा परेका चालकको लाइसेन्स ६ महिनाका लागि निलम्वन गरिने आजको कान्तिपुर दैनिकले उल्लेख गरेको छ ।

मन्त्रालयका सह-सचिव रविनमान श्रेष्ठले सरकारले बढी यात्रु बोक्ने गाडीलाई कारबाही गर्नेलगायतका व्यवस्था गर्न चार नयाँ ऐन, नियमावली र नीति ल्याउन लागेको बताए ।

प्रतिवेदनमा मादक पदार्थ सेवन गरी सार्वजनिक सवारी साधन चलाएमा पहिलो पटक भए १० हजार वा ६ महिनाका लागि चालक अनुमतिपत्र निलम्वन गर्ने र दोस्रो पटक ५० हजार वा १ वर्षका लागि चालक अनुमतिपत्र निलम्वन गर्न समेत सुझाव दिइएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>