समाचारशनिबार, चैत्र ७, २०७१

एसिड आक्रमणकारीलाई ज्यान मार्ने उद्योग

हिमालखबर

jeevan1एक महिना अघि काठमाडौंमा दुई जना स्कुले छात्रामाथि एसिड प्रहार गर्ने अभियुक्तलाई प्रहरीले ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाउने भएको छ।

घाइते मध्येकी एक छात्रासँग विगतमा नजिकको सम्बन्ध भएपनि पछि उत्पन्न रिसइवीका कारण उक्त आक्रमण भएको प्रहरीले जनाएको छ।

एसिड आक्रमणका अभियुक्त जीवन बिकले निरन्तर पिछा गरेर दोस्रो पटकको प्रयासमा एसिड प्रहार गरेको प्रहरीको भनाइ छ।

राजधानीको बसन्तपुर स्थित ए प्लस ट्युसन सेन्टरमा गएको १० फागुनमा एकाबिहानै गरिएको एसिड आक्रमणका पीडित दुई छात्राहरुले अस्पतालबाटै एसएलसी परीक्षा दिइरहँदा ६ चैतमा प्रहरीले अभियुक्तलाई सार्वजनिक गरेको थियो ।

अभियुक्त विकले सङ्गीतालाई ट्युसन पढाइदिने गरेको र त्यस क्रममा दुवै नजिकिएको भएपनि पछि दुवै जनाबीच बारम्बार खटपट भई पारिवारिक रिसइवी भएको प्रहरीको भनाइ छ।

राजधानीको न्यूरोडमा चिया पसल गर्ने आफ्ना परिवारलाई भारतीय सेनामा जागिर खान सिक्किम गएको भन्दै ढाँटेर बिक पछिल्लो समयमा टोखामा भाडामा बस्दै आएको बताइएको छ।

उनले सङ्गीता र उनका भाइलाई आक्रमण गर्ने उद्देश्यले निरन्तर पिछा गरेको र शुरुमा फलामे रडले आक्रमण गर्ने मनसाय लिएको भए पनि हिन्दी सिरियलबाट प्रभावित बनेर एसिड छ्याप्ने निर्णय गरेको बयान आफूलाई दिएको प्रहरीले बताएको छ।

महानगरीय प्रहरी आयुक्त विज्ञानराज शर्माले आक्रमणकारीलाई ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाइने बताए।
“सरकारी वकिलसँग हामीले सल्लाह गरिरहेका छौँ, ज्यान मार्ने उद्योगमा कार्वाही शुरु हुन्छ, हदैसम्मको कडा कार्वाही हुन्छ।”

ज्यान मार्ने उद्योग अन्तर्गत बढीमा पन्ध्र वर्ष सजाय हुने कानूनी व्यवस्था रहे पनि ज्यान मर्न नपाएको अवस्थामा ४ देखि १२ बर्षसम्म जेल सजाय हुनसक्ने व्यवस्था छ।

विगतका कतिपय एसिड आक्रमण सम्बन्धी मुद्दामा मुलुकी ऐन अन्तर्गतको कुटपिट र अंगभंग सम्बन्धी महलमा टेकेर मुद्दा हाल्दा कम सजाय हुने गरेको केही कानुनविदहरु बताउँछन्।

फौज्दारी कानुनका विज्ञ समेत रहेका पूर्व महान्यायधिवक्ता युवराज संङ्ग्रौलाले आक्रमणकारीको नियत हेरेर एसिड प्रहारका घटनामा ज्यान मार्ने उद्योग, यौन हिंसा र सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाउन मिल्ने बताउँछन्।

तर पछिल्लो आक्रमणमा भएको क्षतिका अधारमा आक्रमणकारीमाथि ज्यान मार्ने उद्योगमा मुद्दा चलाउन सकिने उनले बताए।

संसदमा ४ बर्ष देखि विचाराधीन अपराध संहिता सम्बन्धी विधेयकले रासायनिक वा विषालु पदार्थ प्रयोग गरी कुरुप बनाउने अपराधमा पीडकलाई १० बर्षसम्म जेल सजाय हुने प्रस्ताव गरेको छ।

प्रहरीका अनुसार नेपालमा एसिड प्रहारका घटना तुलनात्मकरुपमा कम हुने गरेको र अधिकांश प्रेम सम्बन्ध अस्वीकृत भएपछि हुने गरेको पाइन्छ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>