समाचारआइतबार, चैत्र ८, २०७१

एमालेमा किचलो: युवासंघको समानान्तर भेला

हिमालखबर

yuva-sanghनेकपा एमालेको भ्रातृ संगठन यूवा संघको भेला दुई पक्षले फरक फरक स्थानमा गरेपछि शीर्ष नेताहरुबीचको किचलो झनै झांगिएको छ ।

युवा संघको संस्थापन पक्षले हेटौंडा र असन्तुष्ट पक्षले काठमाडौंमा २७ चैतमा समानान्तर भेला गरे ।

संस्थापन पक्षकी भनिएकी निरु पाल समूहले हेटौडामा आमसभा र दोस्रो विस्तारित बैठक शुरु गरेको छ । उक्त कार्यक्रममा अध्यक्ष केपी ओली निकटका उपाध्यक्ष बामदेब गौतम, अर्की उपाध्यक्ष विद्या भण्डारी र महसचिव ईश्वर पोख्रेल सहभागी भए ।

दिलु पन्त समूहले भने काठमाडौंको बागबजारमा अर्को भेलाको आयोजना गर्‍यो ।

बागबजारको भेलामा वरिष्ठ नेता माधवकुमार नेपाल, सचिव योगेश भट्टराई, पशुपति चौलागाइँ, बेदुराम भूषाल र रामकुमारी झाँक्री लगायतका नेता सहभागी भए ।

हेटौडामा यूवा परिषदको बैठक बोलाईएकोमा पार्टीको यूवा फाँट हेर्ने शेरबहादुर तामाङ्गले रोक्न निर्देशन दिएपछि विस्तारित बैठकको रुपमा कार्यक्रम आयोजना गरिएको छ भने बागबजारमा राष्ट्रिय कार्यकर्ता भेलाको ठाँउमा विचार गोष्ठी भनिएको छ ।

पार्टी अनुशासन आयोगले जनवर्गीय संगठनभित्र देखिएको विवाद तत्काल समाधान नगरे पार्टीमा विभाजन ल्याउने चेतावनी दिएको थियो। युवा फाँटका इन्चार्ज शेरबहादुर तामाङले पनि खुला आमसभाबाहेक अन्य कार्यक्रम स्थगित गर्न निर्देशन दिएका थिए।

हेटौडामा करिब ७ सय प्रतिनिधि सहभागी कार्यक्रम होटल सामनामा भइरहेको छ।

यता, राजधानीमा भएको कार्यक्रममा  विभिन्न कमिटीका गरी करिब हजार प्रतिनिधि सहभागी रहेको सचिव मञ्जु यादवले जानकारी दिइन्।

युवा संघ अध्यक्ष निरु पाल एमाले अध्यक्ष ओली  र उपाध्यक्ष दिलु पन्त नेता नेपालनिकट हुन्।

बुटवलमा भएको महाधिवेशनमा एकै समूहबाट प्रतिस्पर्धा गरेका पाल र पन्त महाधिवशेनपछि फरक–फरक समूहमा रहँदै आएका छन्।

पछिल्लो विवाद महेश बस्नेतले अध्यक्षबाट राजीनामा दिएपछि शुरु भएको हो।

बागबजारमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेता माधवकुमार नेपालले युवा संघमा इमानदार र बेइमान एकै स्थानमा बस्न नसक्ने बताएका थिए ।

हेटौडामा भएको कार्यक्रममा उपाध्यक्ष गौतमले सबैलाई मिलाएर लैजान सुझाव दिएका थिए।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>